काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित सानो भ¥याङमा धारिलो हतियार देखाई मोटरसाइकल लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन ३ गते राति करिब ११ बजे नागार्जुन नगरपालिका–२, आर्मी मेडिकल कलेज नजिकैको सडक खण्डमा उक्त लुटपाटको घटना भएको थियो ।
पैदल हिँडिरहेका दुई युवाले बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकल रोकी चालकलाई धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिएर मोटरसाइकल लुटेर फरार भएका थिए । पीडितको निवेदनका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले लुटिएको मोटरसाइकल सहित नागार्जुन–२ तीनघरे क्षेत्रबाट दुई जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
रामेछाप घर भई हाल नागार्जुन–३ ठुलोभ¥याङ बस्ने वर्ष १९ को अनिस सोनाम र रसुवा (धुन्चे) घर भई हाल नागार्जुन–२ सानोभ¥याङ बस्ने वर्ष १८ को राजन तामाङ पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट डाँका चोरी कसूरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





Comments are closed.