निर्यात अनुदान सुचारु गर्न निजी क्षेत्रको दबाब, पुसभित्रै निकासा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । स्वदेशी उत्पादनमा सरकारले दिदै आएको अनुदानलाई तत्काल सुचारु गर्न निजी क्षेत्रले दबाब दिएको छ । यसैक्रममा निजी क्षेत्रको प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर अनुदान सुचारु गर्न आग्रह गरेको छ ।

निर्यात व्यवसायी महासंघ (फिन) का अध्यक्ष गोविन्द घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा निर्यात प्रवर्द्धन समिति सभापति नरेशलाल श्रेष्ठ, पूर्व सांसद गणेश पराजुली, घरेलु तथा साना उद्योग व्यवसायी महासंघका उपाध्यक्ष शान्ता बास्कोटा, फिनका उपाध्यक्ष किरण डँगोल, महासचिव शिव भट्टराई लगायतको टिमले अर्थमन्त्रीसँग उक्त विषयमा छलफल गरेको हो ।

सरकारले दिदै आएको नगद अनुदानलाई निरन्तरता दिन अर्थमन्त्रालय तयार रहेको महासंघका कार्यसमिति सदस्य श्रेष्ठले जानकारी दिए । ‘निर्यातमा अनुदान रोकिदा नेपाली उत्पादनको निर्यात अवस्था कमजोर हुने हुँदा अनुदान रोक्नु हुँदैन भन्ने हाम्रो माग छ,’ उनले भने, ‘सरकारले छिट्टै अनुदानको रकम निकासा गर्ने प्रतिबद्धता जनाएको छ ।’ निरन्तरको पहलपछि अनुदान सुचारु गर्न सरकार सहमति हुनु राम्रो कदम रहेको उनले बताए ।

उक्त छलफलमा बोल्दै अर्थमन्त्री खनालले निर्यात प्रवद्धर्नलाई सरकारले प्राथमिकतामा राखेको बताए । निर्यातमा दिदै आएको अनुदान सुचारु गर्न मन्त्रालय तयार रहेको पनि उनको भनाइ छ । पुस मसान्तभित्रै अनुदानको रकम निकासा गर्ने उनले प्रतिबद्धता जनाएका छन् । उत्पादनका आधारमा अनुदान दिने व्यवस्थाका लागि कार्यविधि बनाइने उनको भनाइ छ ।

You might also like

Comments are closed.