एनआईसी  एशिया बैंकद्वारा लिलाम सम्पत्तिको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकका बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस पोर्टलमार्फत बैंकले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा सहज रूपमा हेर्न सकिनेछ ।  ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको QR कोड स्क्यान गरी सो पोर्टलमा प्रवेश गर्न सक्नेछन् ।

पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने सुविधा उपलब्ध छ ।  साथै, इच्छुक ग्राहकहरूले सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना लेखी थप जानकारीका लागि सिधा सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले जनाएअनुसार यस पोर्टलमा लिलाम बिक्रीका सम्पत्ति र सूचनाहरू नियमित रूपमा अद्यावधिक गरिनेछ। यसका माध्यमबाट खरिदमा इच्छुक व्यक्तिहरूले अनलाइनमै सम्पूर्ण विवरण हेरी आवश्यक जानकारी प्राप्त गर्न सक्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.