एनआईसी एशिया बैंकद्वारा खाताको प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

काठमाडौं । लाखौं ग्राहकलाई आधुनिक तथा सुरक्षित सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक लाई खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना तुरुन्त अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम ग्राहकको खाताबाट कटान हुने कर विवरणलाई नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा लागू गरिएको प्यान प्रणालीमा समायोजन गर्न अनिवार्य भएकाले प्यान अद्यावधिक गर्नु सबै ग्राहकका लागि आवश्यक भएको छ ।

ग्राहकले आफ्नो प्यान नम्बर बैंकको पोर्टल (एनआईसी एशिया वेब पोर्टल) वा मोबाइल बैंकिङ एपमा गई “Update PAN” विकल्पमार्फत सजिलै अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । साथै आफूलाई सहज पर्ने जुनसुकै शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिक गराउन सकिनेछ ।

बैंकका अनुसार  प्यान अद्यावधिक भएपछि ब्याज भुक्तानीमा काटिएको कर विवरण आन्तरिक राजस्वको कर रेकर्ड (IRAS) प्रणालीमा स्वचालित रूपमा प्रविष्ट हुने भएकाले ग्राहकले करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र अनलाइनमै प्राप्त गर्न सक्नेछन् । यसले प्रमाणपत्र लिन शाखा धाउनुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ ।

  “ग्राहकले प्यान अद्यावधिक नगरेको कारण कर विवरण IRAS प्रणालीमा नबस्दा उत्पन्न हुने अतिरिक्त कर समायोजन र त्यसका जोखिमका लागि बैंक जिम्मेवार रहने छैन”,  बैंकले भन्यो ।

त्यसैगरी, बैंकले ग्राहकलाई ईमेल ठेगाना अद्यावधिक गर्न पनि विशेष आग्रह गरेको छ । भिडियो केवाईसी पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको “Update Email” विकल्पमा गएर ग्राहकले केही मिनेटमै आफ्नै ईमेल अपडेट गर्न सक्नेछन् । चाहेमा नजिकको शाखा कार्यालयमा गएर पनि यसका लागि आवेदन दिन सकिन्छ ।

यदि कसैले पहिलेनै बैंकमा प्यान वा ईमेल दिएको भए पनि विवरण समावेश नभएको वा अद्यावधिक गर्न समस्या परेमा, बैंकले १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ । उक्त जानकारी एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले सार्वजनिक गरेका हुन् ।

You might also like

Comments are closed.