काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले एक दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।
एनआइसी एशिया लघुवित्तको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती तालिम बिहीबार पिस प्वाइन्ट पार्टी प्यालेस, गोपीगन्ज नवलपरासी (वर्दघाट रोड ) मा सम्पन्न गरेको हो ।
संस्थामा आबद्ध रहेका तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने हेतुले उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमर नाथ सेढाईंले बताए ।
संस्थाको उप प्रदेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भइरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले कार्यक्रम प्रस्तुत गरिएको थियो ।
उक्त तालिम कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पारेका थिए भने पशु तथा कृषि प्राविधिक निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवसाय सम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमर नाथ सेढाईंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविश्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पुर्याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिए ।
Comments are closed.