‘निजगढ विमानस्थल निर्माणमा वन मन्त्रालयबाट अवरोध हुँदैन’

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताएका छन् । निजगढ अन्तरराष्ट्रिय विमानस्थल बन्ने ठाउँको बुधबार अनुगमन गर्न त्यहाँ गएका मन्त्री आलेले विमानस्थल निर्माणमा पाँच हजार रुख काट्नुपर्ने र त्यसमा मन्त्रालयबाट कुनै अवरोध नहुने स्पष्ट गरे ।

अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थल निर्माण गरिने काइयाबस्ती क्षेत्रमा रहेका कम्तीमा पनि एक हजार ४७६ घरधुरीका नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए । उनले भने, ‘नागरिकलाई सडकमा अलपत्र छाडेर विमानस्थल बनाइँदैन, बरु विस्थापन हुने नागरिकलाई उचित व्यवस्थापन गरिने छ ।’ विकासका लागि रुखै काट्न नपाइने होइन भन्दै उनले गलत मनसायले रुख नकाटिने काट्न भने नदिइने जनाए ।

निजगढ विमानस्थल निर्माण शुरु हुने

सोही अनुगमनका क्रममा निजगढ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निजगढ अन्तराष्ट्रिय विमानस्थल देशकै नमूना विमानस्थल बनाइने बताए । मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताए ।

‘निजगढ विमानस्थल अन्तराष्ट्रियस्तरमै नमूना विमानस्थल बनाइने छ, यसका लागि हामी निकै कसरत गर्दै छौँ, चाँडै कामको शुरुआत हुनेछ,’ उनले भने । विमानस्थल निर्माण क्षेत्रको अनुगमन गर्नका लागि मन्त्रीसहितको अनुगमन टोली अहिले बारा जिल्लामै छ ।

You might also like

Comments are closed.