सुस्त अर्थतन्त्रलाई गति दिन ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’

रोशन भोयद्यो
संयोजक, नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी एवं महासचिव, नेपाल जग्गा तथा आवास विकास महासंघ

नेपाली अर्थतन्त्र हाल केही शिथिलता र ‘पर्ख र हेर’को अवस्थाबाट गुजरिरहेको छ । यस्तो संवेदनशील मोडमा अर्थतन्त्रको प्रमुख मेरुदण्डका रूपमा रहेको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउनु अपरिहार्य भइसकेको छ । घरजग्गा कारोबार सुस्ताउँदा त्यसको प्रत्यक्ष असर सिमेन्ट, डन्डी, पेन्ट, सेनेटरी, इन्जिनियरिङ कन्सल्टेन्सी, बैंक तथा वित्तीय संस्था र लाखौँको रोजगारीमा पर्ने गर्छ । यही व्यावसायिक मन्दीलाई तोड्दै अर्थतन्त्रमा नयाँ उत्साह भर्न र सुरक्षित आवासको सन्देश फैलाउन हामीले आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘सिजी प्रपर्टिज÷सिजी होल्डिङ्स नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३’ आयोजना गर्दैछौं ।

आर्थिक गतिविधि बढाउन एक्स्पोको भूमिका

घरजग्गा क्षेत्र केवल जग्गा वा घरको किनबेचमा मात्र सीमित छैन, यसले सिङ्गो अर्थतन्त्रमा ‘चेन इफेक्ट’ सिर्जना गर्छ । हाल बैंकिङ क्षेत्रमा तरलता सहज बन्दै गएको छ भने ब्याजदर पनि घट्दो क्रममा छ । यस्तो अनुकूल वातावरणमा लगानीकर्ता, निर्माण व्यवसायी, बैंक र आम उपभोक्तालाई एउटै मञ्चमा ल्याएर कारोबार सम्भव तुल्याउन यो प्रदर्शनीले सेतुको काम गर्नेछ ।
मेलामा सय भन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ पनि भइसककेको छ । जहाँ काठमाडौँ उपत्यकाभित्र र बाहिरका साथै छिमेकी मुलुक भारतका प्रदर्शकहरूसमेत सहभागी हुनेछन् । संयुक्त आवास, अपार्टमेन्ट, जग्गा विकास आयोजना, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, बिमा र रेनवाटर हार्भेस्टिङजस्ता आधुनिक प्रविधिहरू एकै छानामुनि उपलब्ध हुने भएकाले यसले बजारमा पुँजीको प्रवाह बढाउन र शिथिल अर्थतन्त्रलाई तीव्र गति दिन प्रत्यक्ष योगदान पु¥याउनेछ ।

सुरक्षित, विपद्–प्रतिरोधी र दिगो शहरीकरणमा जोड

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार : ग्रिन डेभलपमेन्ट, द निड अफ द डे’ मूल नाराका साथ आयोजना हुन लागेको एक्स्पोले व्यापारलाई मात्र नभई चेतनामूलक अभियानलाई पनि प्राथमिकता दिएको छ । हालैका विनाशकारी बाढी–पहिरो र विपद्को पृष्ठभूमिमा हामीले सुरक्षित बस्ती विकास र विपद्–प्रतिरोधी पूर्वाधार निर्माणलाई विशेष जोड दिएका छौँ ।

बाढी–सुरक्षित घर कसरी बनाउने, नदी किनारभन्दा कति सुरक्षित दूरीमा निर्माण गर्ने र भूकम्प–प्रतिरोधी प्रविधि कसरी अपनाउने भन्ने विषयमा विज्ञहरूद्वारा सेमिनार तथा निःशुल्क परामर्श कक्षा सञ्चालन गरिनेछ। साथै, जलवायु परिवर्तन, सुरक्षित बस्ती पुनरुत्थान र सार्वजनिक–निजी साझेदारी (एएए) का विषयमा नीति निर्माणमा संलग्न अधिकारीहरूसँग गहन प्यानल छलफलसमेत आयोजना गरिनेछ ।

आधुनिक प्रविधि र सामाजिक उत्तरदायित्व

प्रदर्शनीलाई पूर्ण रूपमा वातावरणमैत्री र ‘पेपरलेस’ बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक्स किओस्क र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । मेलामा सस्तो, मध्यम र उच्चस्तरीय आवासका स्टलहरूसँगै निजामती कर्मचारीका लागि १ करोड ४० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्ममा घर निर्माण गर्ने सरकारी योजनाको मोडलसमेत प्रस्तुत गरिनेछ ।

व्यावसायिक गतिविधिसँगै हामीले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएका छौँ । आयोजकका तर्फबाट रसुवाका बाढीपीडित परिवारका लागि राहत सामग्री पठाइनुका साथै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण भइसकेको छ । प्रदर्शनीका क्रममा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, बाढीपीडितका लागि निःशुल्क उपचार प्याकेज र नयाँ युवा उद्यमीहरूका लागि निःशुल्क तालिम तथा परामर्शसमेत प्रदान गरिनेछ ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघ काठमाडौंको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनीलाई करिब ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने हाम्रो अपेक्षा छ । वर्तमान अवस्थामा घरेलु वा आवासको सही छनोट गर्न, सुरक्षित लगानी सुनिश्चित गर्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन यो एक्स्पो एउटा ऐतिहासिक साझा मञ्च बन्नेछ ।

You might also like

Comments are closed.