‘देशभरका अटो व्यवसायीको साझा भावनाको प्रतिनिधित्व गर्छौं’

निराकर श्रेष्ठ, कार्यसमिति सदस्य पदको उम्मेदवार, नाडा

काठमाडौं । बिगत १५ वर्षदेखि अटोमोबाइल क्षेत्रमा आवद्ध निराकर श्रेष्ठले नाडाको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । मंसिर २२ र २३ गते नाडाको ४५औं साधारणसभा अन्तर्गत हुने निर्वाचनमा उनले अध्यक्षका उम्मेदवार ध्रुव थापाको प्यानलबाट उम्मेदवारी दिएका हुन् । नाडामा उनले दोस्रो कार्यकाल पुरा गरिसकेका छन् । नाडा अटो सो २०१८ र २०१९ मा उनले संयोजक भएर काम गरिसकेका छन् । २०१६ र २०१७ को नाडा अटो सोमा उनी सहसंयोजक थिए । २०१८ र २०१९ मा भेहिकल कमिटीको सहसंयोजक भएर काम गरेको अनुभव उनीसँग छ ।

नाडामा परिवर्तन चाहिएको र व्यावसायिक क्षेत्र, तह तथा प्रादेशिक संरचनालाई समेट्नसक्ने व्यक्ति आवश्यक रहेको उनले बताए । देशभरका व्यवसायीको साझा प्रतिनिधित्व गर्नसक्ने व्यक्ति ध्रुवबहादुर थापा भएकाले उनकै प्यानलबाट उम्मेदवारी दिएको र थापालाई जिताउने अभियानमा लागेको उनले बताए । ‘ध्रुव थापाले वाडाको नेतृत्व गरेर आएकाले उहाँलाई जिल्ला तथा प्रदेशस्तरको अटो व्यवसायीहरुको समस्या राम्रोसँग थाहा छ,’ उनले भने, ‘व्यावसायिक रुपमा हेर्ने हो भने डिलर, पार्टसको व्यवसाय, अटो मोबाइल इम्पोटर लगायतका विभिन्न व्यवसायमा संलग्न भएको हुनाले धरै अनुभव छ, कर्पोरेट ग्रुपलाई पनि उहाँले प्रतिनिधित्व गर्नुहुन्छ ।’ व्यवसायीको समस्या समाधान गर्दै नाडालाई सबैको साझा बनाउने अभियानमा आफू लागेको श्रेष्ठले बताए ।

व्यक्ति भन्दा पनि एजेण्डालाई आफूहरुले प्राथमिकतामा राखेको श्रेष्ठ बताउँछन् । ‘नाडाको निर्वाचनमा व्यक्ति भन्दा हामीले एजेण्डालाई ध्यान दिएका छौं,’ उनले भने, ‘हामीले बोकेका एजेण्डा तथा प्रतिबद्धता पुरा गर्नका लागि हामी लाग्नेछौं ।’ नाडामा परिवर्तन आवश्यक भएको र त्यसको नेतृत्व आफूहरुले गर्ने उनको भनाइ छ । ‘अटोमोबाइल व्यवसायमा सबैलाई समेटी नाडालाई नयाँ उचाइमा पुर्याउनका लागि हाम्रो उम्मेदवारी हो,’ उनले भने ।

देशभरका अटोमोबाइल व्यवसायीहरुको प्रतिनिधित्व हुने गरी थापाको प्यानल बनेको श्रेष्ठको दावी छ । ‘हाम्रो प्यानलमा केन्द्रदेखि जिल्लासम्मको प्रतिनिधित्व छ,’ उनले भने, ‘महिलालाई समेत समेटेर टिम बनेको छ । जुन टिमले सबैको साझा भावनाको नेतृत्व पनि गर्नेछ ।’

You might also like

Comments are closed.