निर्माण व्यवसायीका समस्यामा प्रधानमन्त्रीको मलम, ‘भुक्तानीको प्रकृया अगाडि बढ्यो’

दीपा रेग्मी, काठमाडौं । ‘पूर्वाधार निर्माण ठप्प छ, स्रोत सुनिश्चितता भएका कयौं आयोजना शुरू भएका छैनन, भएका आयोजनाको भुक्तानीका फाइल पनि गएको जेठदेखि अर्थबाट सहमति लिने बाहानामा थन्किएर बसेकाछन्, यस्तो अवस्थामा निर्माण उद्योग कसरी चलायमान हुने ?’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित महासंघको २४औं साधारणसभाको कार्यक्रममा प्रश्न गरे ।

उनले निर्माण व्यवसायमाथि निरन्तर प्रहार भएको गुनासो गरे । सरकारसँग उनको माग थियो, ‘यही अवस्थामा कसरी अगाडि बढ्नु, सहमतिमा सुविस्ताको आधारमा ठेक्का तोडौं ।’ कम्तिमा सरकारले निर्माणमा राजनीति गर्न नहुने उनको सुझाव थियो । उनले यो अवस्था देख्दा देख्दै सरकारले वास्ता नगरे आफूहरूसँग आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

उनको कुरा सुनेर बसेका प्रधानमन्त्रीले आफ्नो बोल्ने पालोमा सान्त्वना देखाए, ‘सबैभन्दा धेरै पूँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ, निश्चिन्त हुनुस् ।’ उनले निर्माण क्षेत्र मात्र होइन अन्य क्षेत्र पनि चलायमान गर्ने कुरामा ठोकुवा गरे । ‘देशको अर्थतन्त्र अहिले पनि सजिलो अवस्थामा छैन,तर आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन,’ उनले भने,‘मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि भन्नेजस्तो परिस्थिति थियो, तर संकटको सम्भावना टरेको छ, हामीसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चितिछ, अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भएको छ ।’ निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएको तर्फ इंकित गर्दै निमार्ण व्यवसायी पनि इमान्दार बन्नुपर्ने उनले सुझाए । ‘बेलाबेलामा ‘ठेकेदार हराएको सूचना’ भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायीप्रतिको आक्रोश ‘ट्रोल’ हुने गरेको छ, त्यसले हाम्रो निर्माण क्षेत्रको वास्तविक चित्र प्रस्तुत गर्दछ, आफूलाई सुधार्नुपर्यो’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको आक्रोश

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पनि निर्माण व्यवसायी गुणस्तरमा चुकेके तर्फ प्रश्न गरे । उनले भने, ‘दश वर्ष अगाडि बिड गरेर पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? बाटाघाटा बुझाउन नपाइ टाल्नुपर्ने स्थिति पैदा हुन्छ ।’ उनले यो अवस्थाले आफूलाई अहिले निन्द्रा नलाग्ने बताए । उनी व्यवसायीको भुक्तानी रोकिएका कुरामा सचेत रहेको बताए । ‘तपाईहरूलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र ?’ उनले प्रश्न गरे ।

उनले व्यवसायीले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्सानी गरी काम गरे टुलुटुलु हेरेर नबस्ने बताए । उनले भने, ‘कमजोरी भेटिए आवश्यक कारबाहीको प्रक्रियामा जान्छु ।’

You might also like

Comments are closed.