‘घरघरमा बाटो र विकास होइन, बाटो र विकास भएको ठाउँमा आवास’

पोखरा । घर जग्गा व्यवसायलाई सरकार लगायत सबैले प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभामा बोल्दै वक्ताहरुले मुलुकको आर्थिक समृद्धिका लागि घर जग्गाको कारोबार बढ्नुपर्ने धारणा राखे । घरघरमा बाटो र विकास पुर्याउने परिपाटीले विकास निर्माण गलत ठाउँमा गएको बताउँदै वक्ताहरुले विकास निर्माण, पूर्वाधार तथा सडकको विकास सुनिश्चित गरिएको ठाउँमा मात्रै घर तथा आवासको विकास हुनुपर्ने धारणा राखे ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घर जग्गा व्यवसायीले व्यवस्थित शहरीकरणमा योगदान पुर्याउनुपर्ने बताए । बिगतमा जहाँ जहाँ घर बन्छ त्यहाँसम्म बाटो र विकास सुनिश्चित गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले अब विकास तथा पूर्वाधार सुनिश्चित भएको ठाउँमा आवास तथा घर निर्माण हुनुपर्ने बताए ।

प्रदेश सांसद विन्दुकुमार थापाले घर जग्गा व्यवसायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने धारणा राखे । ‘राष्ट्रबैंकको नीतिका कारणले पनि घर जग्गा व्यवसायलाई अप्ठ्यारोमा पार्ने काम भएको छ,’ उनले भने, ‘अब यो व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यवस्थित पोखरा निर्माणको अभियानमा महानगर रहेको बताए । व्यवस्थित पोखरा निर्माणको अभियानमा महानगरले सबैको साथको अपेक्षा गरेको पनि उनको भनाइ छ ।

महासंघका अध्यक्ष भेषराज लोहनीले लगानीमैत्री वातावरणको जरुरी रहेको बताए । साना साना परियोजना भन्दा पनि ठूला ठूला प्रोजेक्टहरुमा काम गर्नुपर्ने उनको भनाइ छ । साना व्यवसायी मर्ज भएर मझौला र मझौला व्यवसायी मर्जरमा गएर ठूला ठूला कम्पनी बन्नुपर्ने र सोही अनुसार लगानी हुनुपर्ने उनको भनाइ छ ।

व्यावसायिक हकहितका क्षेत्रमा महासंघको सक्रियता बढिरहेको र व्यवसायलाई व्यवस्थित बनाउने अभियानमा देशभरका घर जग्गा व्यवसायीहरुको सकारात्मक साथ रहनेमा उनले विश्वास व्यक्त गरे ।

महासभामा सहभागी हुन देशभरबाट घर जग्गा व्यवसायीहरु पोखरामा आएका छन् । होटल ग्राण्डी पोखरामा आयोजित कार्यक्रममा झण्डै ५ सय जना व्यवसायीहरुको सहभागिता रहेको महासंघका महासचिव विष्णुप्रसाद घिमिरे (ध्रुव)ले जानकारी दिए ।

महासंघको आयोजना तथा गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको सहआयोजनामा कार्यक्रम भएको हो । देशभरबाट कार्यक्रममा सहभागी हुन पोखरा आउने सम्पूर्ण घर जग्गा व्यवसायीहरुलाई पोखरामा स्वागत गर्न पाउँदा र दोस्रो महासभा पोखरामा आयोजना गर्न पाउँदा गौरव महसुस भएको गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघका अध्यक्ष अरुण स्तोम त्रिपाठीले बताए ।

You might also like

Comments are closed.