मनसुनको जोखिमप्रति सजग एनएमबि बैंक, उद्धार सामग्री नेपाल प्रहरीलाई हस्तान्तरण

काठमाडौं । मनसुनको समयमा देखिने आकस्मिकता र सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै, एनएमबि बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ। बैंकले एक कार्यक्रमबीच १६ वटा सेल्फ–लेभलिङ राफ्ट, लाइफ ज्याकेटसहितका आपतकालीन उद्दार उपकरणहरू २० श्रावण, मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हस्तान्तरण गरेको हो।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द भट्टले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीमा राफ्ट र लाइफ ज्याकेटसहितका बाढी, डुबान र जलजन्य विपद् व्यवस्थापनमा प्रयोग हुने अन्य अत्यावश्यक उपकरणहरू समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस सहयोगबाट प्रहरीको उद्धार क्षमतामा सघाउ पुग्ने अपेक्षा एनएमबि बैंकले लिएको छ।

एनएमबि बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। बैंकले यस्ता पहलबाट समुदायप्रति आफ्नो प्रतिबद्धता झल्किएको विश्वास समेत व्यक्त गरेको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.