काठमाडौं। एनएमबि बैंक लिमिटेडले दुई महत्वपूर्ण जलविद्युत आयोजना, लाप्चे तामाकोशी र चेपे खोला क्यास्केडका लागि वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ। यी दुई आयोजनामा बैंकको अगुवाइ तथा एकल लगानीमा गरी कुल ५ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह हुने भएको छ।
एनएमबि बैंकको अगुवाइमा दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो। यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सह-वित्तीयकरण सदस्य बैंकहरुमा नबिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, र एभरेष्ट बैंक लिमिटेड रहेका छन्। डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. द्वारा प्रवर्द्धित यस आयोजनाको करिब लागत रु. ७ अर्ब रहने जानकारी गराइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ५ अर्ब २५ करोड रहनेछ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको निर्माणका लागि विद्युत खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ।
साथै, एनएमबि बैंक लिमिटेडले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत आयोजना (२ मेगावाट) को पनि वित्तीय व्यवस्थापन समापन गरेको छ। २ मेगावाट क्षमता रहेको यस आयोजनाको अनुमानित लागत रु. ४३ करोड ४० लाख रहेको छ भने एनएमबि बैंक लिमिटेडले रु. ३४ करोड ऋण लगानी गर्ने भएको छ।
गत मे ११, २०२५ (२०८२ जेठ २८ गते) सम्पन्न ऋण सम्झौता पत्रमा एनएमबि बैंक लिमिटेडको तर्फबाट दिगो ऊर्जा बैंकिङ्गका प्रमुख दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. को तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् । सोही अवसरमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले ऋण सम्झौता पत्र आदानप्रदान गरे ।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले एनएमबि बैंकले जलविद्युत परियोजनाहरुको प्राविधिक पक्ष, वातावरणीय तथा सामाजिक पक्ष एवं अन्य जोखिमहरुको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराउनुभयो। यसैगरी, डायनामिक हाइड्रो ईनर्जीका अध्यक्ष श्री मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजना सहित ८ वटा परियोजनाको लागि ऋण उपभोग गरिरहेको तथा यी परियोजनाहरु निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । एनएमबि बैंक लिमिटेडले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी ‘ वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन मार्गदर्शन, २०२२’ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ। साथै, बैंक जलविद्युत क्षेत्र लगायत परियोजना वित्तपोषणमा आईएफसी पर्फर्मेन्स स्ट्यान्डर्डस् जस्ता अन्तर्राष्ट्रिय असल अभ्यासहरू लागू गर्न प्रतिबद्ध रहेको छ।
Comments are closed.