नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न 

पोखरा । नेपाल पर्यटन बोर्ड र सारङ सर्भिसेस् द्वारा आयोजित नोमाड बेसक्याम्प नेपाल २०२५ पोखरामा सम्पन्न भएको छ । नेपालमा पहिलो पटक विश्वभरका डिजिटल नोमाड, उद्यमी र नवप्रवर्तकहरूको ऐतिहासिक भेला पोखराको बरपिल रिर्सोट सम्पन्न गरिएको हो ।
कार्यक्रममा विश्वका विभिन्न भागबाट आएका १८ भन्दा बढी वक्ता र ७० भन्दा बढीको सहभागिता थियो । कार्यक्रमसँगै सहकार्य, नेटवर्किङ र ज्ञान–विनिमयमा महत्वपूर्ण उपलब्धि हासिल भएको आयोजकले जनाएको छ । पोखरा पर्यटन परिषद्को सहकार्यमा भएको कार्यक्रममा प्रविधि साझेदारमा क्लक बी टेक रहेको थियो । कार्यक्रमको आतिथ्य साझेदारमा होटल सरोवर, पर्यटन साझेदारमा नेपाल मोटो र होटल एसिया तथा अन्य सहयोगीमा अन्नपूर्ण केबल कार र फ्रेन्ड्स लेक इन रहेको जनाइएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले “नेपाल अनचार्टेडः द डिजिटल फ्रन्टियर” विषयक सम्बोधनमार्फत् कार्यक्रमको सफलताको कामना गरे ।  कार्यक्रममा कृत्रिम बुद्धिमत्ता, रिमोट वर्क, दिगो पर्यटन, नवप्रवर्तन तथा डिजिटल समुदायहरूको भविष्य लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिएको थियो । कार्यक्रमले पोखरालाई प्राकृतिक सौन्दर्य, संस्कृतिको धरोहर र अवसरहरूको संगम भएको डिजिटल नोमाडहरूको विश्वस्तरीय केन्द्रका रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमका विभिन्न सत्रमा जोन ली डुमास, जोनाथन फोल्ट्ज, डेनी, जोनाथन, जोन ली डुमास, क्रेग, एलोइज, अनुप गुरागाईं, ब्राड इप्पो, फियोना लेडल, क्रेग अल्सप, एलोइज स्टिन, जर्ज कात्सियोरस,  bzरोब पाल्मर, सचिन डाँगी लगायतले विभिन्न प्रस्तुती राखेका थिए ।
नोमाड बेसक्याम्प नेपाल २०२५ को सफलताले भविष्यमा नेपाललाई विश्वका डिजिटल पेशाकर्मीहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने बाटो खुलाएको विश्वास लिइएको छ । यो पहलसँगै नेपाललाई डिजिटल नोमाड र भविष्यको कामकाजी समुदायहरूको लागि गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको थियो ।
You might also like

Comments are closed.