‘अन्तर्राष्ट्रियस्तरको पूर्ण प्राविधिक शिक्षा नोभेलमा’

विश्वेश्वर आचार्य
कार्यकारी प्रमुख
नोभेल एकेडेमी, पोखरा

सन् २००२ मा स्थापना भएको पोखरा न्युरोडको नोभेल एकेडेमीले हालसम्म करिब ४ हजार जना दक्ष विद्यार्थी उत्पादन गर्न सफल छ । प्राविधिक शिक्षामा जोड दिँदै पठनपाठन सञ्चालन गरिरहेको नोभेल एकेडेमीका कार्यकारी प्रमुख विश्वेश्वर आचार्यसँग एकेडेमीमा विद्यार्थीको आकर्षण, बजारको मागलगायतका विषयमा आर्थिक आवाजले गरेको कुराकानीको सार :

नोभेल एकेडेमीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरु के–के छन् ?
नोभेल एकेडेमीलाई गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन पाउँदा हमी निकै हर्षित छौं । पछिल्लो समय विद्यार्थीको बढी रुची भएका र बजारमा माग भएका विषयहरुको अध्ययनमा हामीले जोड दिएका छौं । सोही अनुसार विद्यार्थीको आकर्षण पनि निकै उत्साहजनक छ । पूर्वाञ्चल विश्वद्यिालयको सम्बन्धनमा प्रत्येक वर्ष स्नातकतर्फ बिएससी नर्सिङ, बिफार्मेसी, बिबिएको पढाइ भइरहेको छ । स्नातकोत्तरतर्फ एमबिएको पढाइ हुन्छ । पोखरा मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीको समेत कलेजप्रति आकर्षण छ । यी कोर्षहरुमा चार वर्षे बिएस्सी नर्सिङको पढाई पश्चात् स्वदेशमै अवसर मिल्नुका साथै युरोप, अमेरिका तथा बेलायत जान चाहनेका लागि पनि निकै फलदायी छ । सन् २०२० सम्ममा अमेरिकामा १२ लाख नर्सको माग रहेको परिप्रेक्षमा यहाँ पढेकाहरुलाई सहज हुनेछ । नेपालकै प्रतिष्ठित मेडिकल कलेज तथा अस्पतालहरुमा आधारभूत तथा विषयगत प्रयोगात्मक अभ्यास गर्ने भएकाले पनि विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यबहारमा उतारी दक्ष बन्ने अवसर पाएका छन् । त्यस्तै चिकित्सा क्षेत्रको अर्को महत्वपूर्ण पढाई बिफार्मेसिमा पनि यसको स्कोपको हिसाबले वर्षेनी विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।

नोभेल एकेडेमीका विशेषताहरु के–के छन् ?
पूर्ण प्राविधिक शिक्षा हामीले प्रदान गर्छौं । समय समय सम्बन्धित विषयका विज्ञहरुलाई ल्याएर कक्षा लिने गरेका छौं । यहाँबाट उत्पादित विद्यार्थी कहिल्यै पनि बेरोजगार बस्नु परेको छैन । कतिपयले उद्यममा लागेर राम्रो गरेको उदाहरण पनि छन् । विद्यार्थीहरु व्यवहारिक अभ्यासका लागि प्रख्यात उद्योग, बैंक तथा व्यापारिक प्रतिष्ठानमा जान्छन् र त्यसैमा कुशलतापूर्वक काम गरी रोजगार समेत पाइरहेका छन् । सफलताको पछाडिको कारण भनेको २१ औं शताब्दीको मागअनुरुप शिक्षण विधिलाई समयानुकुल परिवर्तन गरिनु हो । कलेजको धेरै व्यापारिक प्रतिष्ठान तथा बैकहरुसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण पनि योग्य विद्यार्थीले रोजगारी पाएका हुन् । लामो समय अनुभव भएका प्राध्यापकहरुबाट अध्यापनको व्यवस्था गर्न सफल छौं ।

विद्यार्थी भर्नाको अवस्था कस्तो छ ?
बिएससी नर्सिङ, बि फार्मेसी र बिबिए र एमबिएका लागि अहिले हामीले भर्नाको आबेदन खुल्ला गरेका छौं । फर्म खुल्ला भएदेखि नै विद्यार्थीको आकर्षण निकै देखिएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विद्यार्थीहरुले आकर्षण देखिएको हो । बिएससी नर्सिङ र बि फार्मेसीको फर्म भर्ने अन्तिम मिति भदौ १ गते हो । बिबिएको इन्ट्रास भदौ ३० गते हुँदैछ । सबै विषयमा विद्यार्थीले भर्ना हुनका लागि फर्म लगिरहनुभएको छ । एमबिए फलको १३औं व्याचका लागि पनि भर्ना सञ्चालन भइरहेको छ । आधुनिक तथा पूर्ण प्राविधिक शिक्षा भएकाले पनि कलेजप्रति विद्यार्थीको आकर्षण बढेको हो । हामीले छात्रबृत्तीको समेत व्यवस्था गरेका छौं । जेहेन्दार र आरक्षणलाई छात्रबृत्तीको कोटा छुट्याएका छौं । जेहेन्दारलाई ८० प्रतिशत छुट र आरक्षणलाई शतप्रतिशत छुटमा पढाउँछौं ।

बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्न सक्नुहुन्छ ?
बजारमा माग भए अनुसारको शिक्षा हामीले प्रदान गर्न सफल छौं । सन् २००९ बाट बिएसी नर्सिङ, बिफार्मेसी, बिबिए र एमबिएको पढाई सञ्चालन शुरु ग¥यौं । जसले गर्दा ए लेभल गरिसकेका र अन्य विद्यार्थीहरुले आफ्नो चाहना अनुसारको प्रतिस्पर्धी उच्च शिक्षा पोखरामै लिन सफल भए । सबै तहको अध्ययनमा शुरुदेखि नै विद्यार्थीको आकर्षण राम्रो छ । सिट खाली हुँदासम्म पोखरामै अध्ययन गर्न पाए हुन्थ्यो भन्ने विद्यार्थीको चाहना हुन्छ । बजारमा माग उच्च भएकाले बेरोजगार कोेही पनि बस्नुपर्दैन । सबै तहमा गरेर यहाँबाट करिब ४ हजार विद्यार्थी दक्ष बनेर उत्पादन भइसकेका छन् । उत्पादित विद्यार्थी कोही पनि बेरोजगार बस्नुपरेको छैन । दक्ष जनशक्ति उत्पादन नै हाम्रो प्रण हो ।

मोफसलमा रहेर राजधानी र विदेशसँग प्रतिस्पर्धा गर्न समस्या छैन ?
पोखरा पनि अब मोफसल होइन, किनकि गण्डकी प्रदेशको राजधानी हो । संसारमै प्रशिद्ध पर्यटकीय नगरी हो । मुलुक संघीयतामा गएपछि यस्ता शहरहरुको महत्व अझ बढेको छ । यद्यपि, देशको राजधानीको तुलनामा पोखरा मोफसल नै हो । नोभेल एकेडेमी पोखरामा रहेर पनि सधैं उत्कृष्ट रहँदै आएको छ । हामी नेपालकै उत्कृष्ट भित्र पर्न सफलसमेत भयौं । हामीले सबै प्राविधिक शिक्षामात्र प्रदान गरिहेका छौं । परम्पराभन्दा पृथक रहेर शिक्षक केन्द्रित भन्दा विद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्न हामी सफल छौं । व्यक्तित्व विकासका लागि तालिम र जब मार्केटका लागि आवश्यक सिपलाई हामी बढी महत्व दिन्छौं । विदेशी विश्वविद्यालयसँग हाम्रो रणनीतिक साझेदारी छ । विद्यार्थी र शिक्षकलाई विदेशी विश्वविद्यालयमा पठाउने र त्यहाँबाट विद्यार्थी र शिक्षकहरु यहाँ ल्याएर अनुभव आदानप्रदानदेखि गोष्ठी तथा समेनार पनि आयोजना गर्छौं । युके, अमेरिका, युरोपका विश्वविद्यालयसँग रणनीतिक साझेदार भएकाले पनि हाम्रो पढाईप्रति आम विद्यार्थीको विश्वास छ ।

विद्यार्थीहरु कहाँ–कहाँबाट अध्ययनका लागि आउँछन् ?
अधिकांश विद्यार्थी पोखरा क्षेत्रकै छन् । जम्मा विद्यार्थीको ७० प्रतिशत पोखरा क्षेत्रका छन् भने ३० प्रतिशत विद्यार्थीहरु छिमेकी जिल्लासहित देशका विभिन्न स्थानबाट आएका छन् । पोखरा बाहिरका विद्यार्थीलाई आवासीय सुविधा पनि उपलब्ध छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
नोभेल एकेडेमी सन् २००२ डिसेम्बरबाट पोखरामा सञ्चालनमा आएको हो । काठमाडौं बाहिर पहिलो पटक ए लेभलको पढाई पोखरामा हामीले सञ्चालन गरेका हौं । शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरामा नोभेल एकेडेमीको स्थापना भएको हो । शिक्षा, स्वास्थ्य र पर्यटनका लागि पोखरा उर्वरभूमि नै मानिन्छ । यहाँका विद्यार्थीहरु ए लेभल पढ्नका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता थियो, जुन बाध्यता हामीले हटाउन सफल भयौैं । विद्यार्थीको माग अनुसार अन्य स्नातकतर्फ बिएससी नर्सिङ, बिफार्मेसी, बिबिएसँगै स्नातकोत्तरतर्फ एमबिएको कक्षा सुरु गर्न सफल भयौं । अहिलेसम्म विद्यार्थीको माया पाउन हामी सफल छौं । विद्यार्थीको चाहना अनुसारको गुणस्तरीय शिक्षामा हामीले कहिल्यै पनि कमी हुन दिँदैनौं । कलेजको प्रत्यक्ष अवलोकन गरी वास्तविकता बुझिदिनुहुन म विद्यार्थीहरुलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.