काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरका वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । बैंकले ५ वर्षे अवधिको फागुन १४ गतेदेखि ५० करोड रुपैयाँ बराबरका वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ जारी गर्न लागेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक खरिदकर्तालाई अनलाइन दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार २०७९ फागुन १४ गतेदेखि २०७९ चैत्र ३ गतेसम्म दरखास्त खुल्ला रहनेछ ।२०७९ चैत १० गते बिक्री हुने बचत पत्र २०८४ चैत १० गते परिपक्व हुनेछ ।
सो बचतपत्रको ब्याजदर १२.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।यो बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।
इच्छुक खरिदकर्ताले १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि दरखास्त हाल्न सक्नेछन् । खरिदकर्ताले अर्धवार्षिक अर्थात् ६-६ महिनामा तोकिएको ब्याज पाउनेछन् ।
बैंकका अनुसार स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने छ । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनुपर्नेछ । नखुलाएको प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र दिइने बैंकले जनाएको छ ।
रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रहकम बिना ब्याज निष्काशन मितिको ७ दिन भित्र फिर्ता गरिने बैंकले जनाएको छ ।
Comments are closed.