एनआरएनए महाधिवेशनको तयारी पूरा, आज दिउँसो २ बजे भित्र दर्ता शुल्क बुझाइ सक्नुपर्ने

काठमाडौँ  । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । शनिवारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको सङ्ख्यामा  प्रतिनिधिहरू (डेलिगेट्स) आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ ।

महाधिवेशन हुन नदिन गरिएका विभिन्न अवरोधका बाबजुद ठूलो सङ्ख्यामा प्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले  उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमा उल्लेख छ । समितिले आज शुक्रवार, १९ वैशाख (मे २) दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमा दर्ता शुल्क बुझाएर एकताको महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।

“एनआरएनए उच्चस्तरीय समिति कानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिक बुद्धिमत्तामा विश्वास गर्दछ।  विगतका विवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्ध ढङ्गले अगाडी बढाउन  सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिका आधारमा पारदर्शी किसिमले गएको झन्डै  ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ,”  समितिकी सदस्य सचिव जानकी गुरुङद्वारा जारी  विज्ञप्तिमा भनिएको छ।

समितिको सचिवालयमा बैङ्कका कर्मचारीद्वारा डेलिगेट शुल्क बुझ्ने  र निर्वाचन समितिको गैरीधारास्थित कार्यालयमा प्रमाणीकरण गर्ने काम भई रहेको जानकारी गराउँदै समितिले जतिसक्दो छिटो सचिवालयमा गएर आवश्यक कागजात सहित दर्ता शुल्क बुझाउन सम्पूर्ण डेलिगेट्सहरुलाई अनुरोध पनि गरेको छ।

One attachment • Scanned by Gmail

You might also like

Comments are closed.