पेरिस । एनआरएनए फ्रान्सको अध्यक्षका लागि उम्मेदवारी दिएकी गीता खनाल थापाले आफू विजयी हुनेमा विश्वस्त रहेको बताएकी छन् । हाल वरिष्ठ उपाध्यक्ष थापा टिमसहित चुनावी मैदानमा छन् । सन् २०१३ यता निरन्तर एनआरएनएको नेतृत्वमा आवद्ध खनालले आठ वर्षको नेतृत्व अनुभव र शुभेच्छुक मतदाताबाट प्राप्त साथ र सहयोगका आधारमा विजयी हुने आशा व्यक्त गरेकी छन् ।
‘सबैको अपनत्व हुने साझा एनआरएनए हेर्ने हजुरको चाहनाः हाम्रो प्रतिवद्धता’ नारा लिएर अघि बढेकी छन् उनी । अप्ठेरोमा परेकालाई सघाउने, सदस्यताबाट बञ्चितलाई दिलाउने, पेपर नभएको भन्दै सहयोगबाट बञ्चितलाई पनि सघाउने, नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा नेपाली बालबालिकालाई बिदाका बेला भाषा कक्षासमेत सञ्चालन गर्ने योजना उनले अघि सारेकी छन् । ‘मेरा नाराप्रति सबै सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्, ‘टिमसहित विजयमा आशावादी छु ।’
महिला पनि सक्षम हुन्छन् भन्ने उदाहरण यस अघि पाएको जिम्मेवारीमा प्रमाणित गरेको भन्दै आफू सबै जातजाति, भाषा, विचार र लिंगको प्रतिनिधि भएर नेतृत्वमा काम गर्ने प्रतिवद्धता जनाइन् । ‘यो संस्था कुनै विचार वा पक्षको मात्र नभइ सबैको साझा बनाउने मेरो उद्देश्य हो,’ उनले भनिन्, ‘हार्नेलाई पनि समेटेर अघि बढ्नेछु ।’
नेतृत्वमा नेता गिरी भन्दा पनि फ्रान्सका नेपालीको समस्या बुझ्ने र पक्षपात नगरी समाधानमा लाग्ने आवश्यकता रहेको भन्दै त्यो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता थापाले जनाइन् । तनहुँको म्याग्दे १ गुणादीमा जन्मिएकी थापाले पोखरामा डेढ दशक शिक्षण गरेकी थिइन् ।
एनआरएनए फ्रान्स नेतृत्वले यस अघि तय गरेको निर्वाचन मिति रद्द भएको थियो । मतदाताहरुले कोभिड संक्रमणका कारण हुने भनिएको अनलाइन भोटिङमा प्रश्न उठाए पछि अब अगस्ट १ तारिखमा मतदान तय भएको छ । थापाले पारदर्शितामा खबरदारी गर्न मतदातासँग आग्रह गर्दै आफ्नो एजेण्डाका पक्षमा मतदान गर्न आग्रह गरेकी छन् ।
Comments are closed.