विद्युत आपूर्ति बन्द भएपनि टेलिकमको भ्वाइस सेवा लिन सकिने

काठमाडौं । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराएको छ । निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

विद्युत आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने हुनाले इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भएको पाइएको छ । हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर समेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने नेपाल टेलिकम राजेश जोशी बताउँछन् ।

‘राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन्,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ ।’ कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा अनलाइनबाट खरिद गरी प्रयोग गर्न सक्नेछन् ।

हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ । यसका लागि ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने कम्पनीको विश्वास छ ।

You might also like

Comments are closed.