पहिलो होटल म्यानेजमेन्ट कलेज

सुरेन्द्र पौडेल
पोखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराबाट हालसम्म ७ सय भन्दा बढी विद्यार्थीले व्याचलर अफ होटल म्यानेजमेन्ट कोर्ष उत्तीर्ण गरेका छन् । नेपालमै पहिलो पटक सन् १९९९ मा पोखरा विश्वविद्यालयको सम्वन्धनमा पोखरा १८ छिनेडाँडामा स्थापना भएको होटल म्यानेजमेन्ट कलेजबाट उत्तीर्ण प्रायः सबै विद्यार्थी विभिन्न देशमा रोजगारीमा लागिरहेको कलेजका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ‘नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरामा खोल्न सफल भयौं,’ उनले भने, ‘हस्पिटालिटी क्षेत्रका लागि यो निकै ठूलो उपलब्धी साबित भएको छ ।’

४ वर्षे व्याचलर अफ होटल म्यानेजमेन्ट चलाउने पहिलो कलेज पनि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज बन्न सफल भयो । कलेजमा अध्ययन पश्चात विद्यार्थीहरु पोखरा, काठमाडौंसहित देशका मुख्य सहर लगायत विदेशमा समेत रोजगारमा जाने गरेका छन् । कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, स्पेन, जापान, हङकङ, सिङगापुर, अष्ट्रेलिया, भारत लगायतका देशहरुमा कार्यरत रहेको अध्यक्ष पालिखेले जानकारी दिए ।

‘कलेजमा अध्ययन गरेका विद्यार्थीको माग स्वदेशमा मात्र नभई विदेशमा समेत बढिरहेको छ’ उनले भने । यहाँ उत्पादन भएका विद्यार्थीले मासिक लाखौं रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको पालिखे बताउँछन् । पोखरामा कलेज स्थापना हुनु अगाडि होटल म्यानेजमेन्टको अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता थियो । पोखरामा नेपालमै पहिलो पटक यस सम्बन्धी कलेज स्थापना भएपछि अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता हटेको हो । आफूहरुले नाफा भन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरेको उनले बताए ।

पोखरालाई शैक्षिक नगरीको रुपमा स्थापना गराउन तथा पोखरामा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले शिक्षामा लगानी गरेको बताउँछन् अध्यक्ष पालिखे । २२ रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा ५० हजार बर्गकिलोमिटर आफ्नै पक्की भवन छ । ७ ओटा प्रयोगात्मक ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, वास्केटवल कोर्ट, भलिवल कोर्ट, सुविधा सम्पन्न रेष्टुरेन्ट लगायतका भौतिक संरचनाहरु कलेज परिषरमा छन् ।

फाइभ स्टार होटल स्तरको प्रयोगात्मक रुम बनिसकेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । ‘फाइभ स्टारस्तरका ५ वटा कोठा तयार भइसकेका छन्,’ उनले भने, ‘लिफ्ट पनि तयार भइसकेको छ ।’ इभेन्ट म्यानेजमेन्टको माथि सभाहल बन्दैछ । पूर्व इटहरिदेखि पश्चिम नेपालगञ्ज सम्मका विद्यार्थीहरु कलेजमा आइरहेका छन् । ‘कलेजमा देशका प्रायः सबै ठाउँबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्,’ उनले भेन । कलेजले विद्यार्थीको आत्मविश्वास बढाउन तथा व्यवहारिक ज्ञान हासिल गराउन भारत, मलेसिया दुवई लगायतका देशमा अध्ययन तथा अवलोकन भ्रमणमा लैजाने गरेको रेग्मीले जानकारी दिए ।

कलेजले व्याचलर्स अफ बिजनेस एडमिनेष्टर (बीबीए) र व्याचलर्स अफ विजनेस एडमिनेष्टर इन बैंकिङ एण्ड इन्सुरेन्स (बीबीएबीआई)का कक्षा बिगत ११ वर्षदेखि सञ्चालन गर्दै आएको छ । पोखरामा बैंकिङ संघसंस्थाहरु डेड सय भन्दा बढी भएकाले त्यसको माग पुरा गर्न बीबीए र बीबीएबीआईका कक्षा सञ्चालन गरेको अध्यक्ष पाखिले बताउँछन् ।

कलेजले उच्च माध्यमिक शिक्षा परिषदबाट दुई र पोखरा विश्वबिद्यालयबाट ४ जनालाई निःशुल्क छात्राबृत्ति प्रदान गर्दै आएको छ । हरेक सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई समेत छात्रबृत्ति प्रदान गरिने उनले जानकारी दिए । समय–समयमा नेदरल्याण्ड, स्वीजरल्याण्ड, अमेरिका लगायतका देशबाट तालिम प्राप्त प्रशिक्षकहरुले कलेजका शिक्षक तथा विद्यार्थीहरुलाई तालिम दिने गरेका छन् । कलेजमा सय जना प्रध्यापक तथा कर्मचारी कार्यरत छन् ।

यसैबीच, कलेजले आगामी २ वर्ष भित्रमा मास्र्टस अफ होटल म्मानेजमेन्ट र ईएमबिए वा एमबिए सञ्चालनको तयारी गरिरहेको छ । कोर्ष ड्राफ्ट भइरहेको छ । ‘उक्त कक्षाका लागि सम्बन्धनको प्रक्रियामा छौं,’ पालिखेले भने, ‘पोखरा विश्वविद्यालय अन्तर्गत नै हामी सम्बन्धन लिन्छौं ।’ व्याचलर गरेका विद्यार्थीलाई त्यसपछिको शिक्षा पोखरामा नै उपलब्ध गराउने आफूहरुको लक्ष्य रहेको उनले बताए । थोरै लगानीमा आफ्नै ठाउँमा स्तरीय शिक्षा प्रदान गरिने उनले बताए । ‘पहिलो होटल म्यानेजमेन्ट कलेज हरेक हिसाबमा पहिलो नै बन्न सफल छ,’ पालिखेले भने, ‘गुणस्तरीय शिक्षाबाट विद्यार्थीको विश्वास जित्नु नै हाम्रो सफलता हो ।’ नेपालमा स्टार होटल र पर्यटनस्तरका होटलहरु प्रशस्त थपिएका र थपिने क्रममा रहेकाले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई धेरै अवसर रहेको प्रिन्सिपल रेग्मी बताउँछन् ।

You might also like

Comments are closed.