नेपाली युवा उद्यमी मञ्च पोखराले सुरु गर्यो ‘लिडर प्रोजेक्ट’

पोखरा । नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयसंग सहकार्य गरी आईभि बिजनेश स्कुलका विद्यार्थीद्वारा संचालित ‘लिडर प्रोजेक्ट’ २०१६ देखि निरन्तर सञ्चालन गर्दै आइरहेको छ । जस अन्तर्गत नेपाली युवा उद्यमी मञ्च पोखरा च्यापटरले पहिलो पटक सो कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम वैशाख १७ गते सोमबार सुरु भएको छ । वैशाख २८ गतेसम्म १२ दिन लेकसाइड स्थित होटल क्राउन हिमालयमा कार्यक्रम सञ्चालन हुने मञ्चका पोखरा च्याप्टर अध्यक्ष निरन केसीले जानकारी दिए । कार्यक्रममा ४० जना विद्यार्थीको सहभागिता छ ।

‘कार्यक्रमको प्रमुख उद्देश्य अनुरुप बिजनेश प्रशिक्षणमार्फत उद्यमशीलता तथा आर्थिक विकासमा सघाउनु हो,’ अध्यक्ष केसीले भने । ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै प्रशिक्षक, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस अध्ययन पढाउने प्रशिक्षण पाएका र कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु विश्वस्तरिय रहेको प्रोजेक्टका संयोजक तथा मञ्चका कार्यसमिती सदस्य निकेश द्वाले जानकारी दिए ।

आईभि बिजनेश स्कुलले अन्तर्राष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा देशहरुमा पनि आफ्ना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकका रुपमा पठाउने गरेको छ ।

jutta mela

‘लिडर प्रोजेक्ट’को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आफ्नो आफ्नो बिजनेश योजनाहरु, प्यानलको अगाडि प्रस्तुत गर्नेछन् । सो प्यानलमा उद्योग विशेषज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनी सदस्यहरुको संलग्नता रहने छ । प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने समूहलाई प्रोत्साहन स्वरुप नगद रु ५० हजार प्रदान गरिने मञ्चका अध्यक्ष निरन केसीले जानकारी दिए।

मञ्चमा देशभर १३ वटा सहरका ८ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् । पोखरा च्याप्टर सन् २००४ मा स्थापना भएको सबै भन्दा पुरानो च्याप्टर हो ।

‘लिडर प्रोजेक्ट’का मुख्य प्रायोजकमा पोखरा फाइनान्स लिमिटेड, ग्रीन डेभलपमेम्ट बैंक लिमिटेड र हिमालयन एभरेस्ट इन्सुरेन्स छन् । सह–प्रायोजकमा कार्यक्रमलाई सफल बनाउन मञ्चको पोखरा च्यापटरको विभिन्न क्षेत्रका ३२ युवा उद्यमीहरुले आ–आफ्नो कम्पनी अन्तर्गत सहयोग प्रदान गरेको मञ्चका कोषाध्यक्ष सिए बिबेक श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए ।

 

You might also like

Comments are closed.