उद्यममा युवालाई आकर्षित गर्न सफल एनवाईईएफः कुशलले पुरा गर्ने आफ्नो कार्यकाल

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) को २१औं साधारणसभा साउन २ गते शुक्रबार काठमाडौंमा हुने भएको छ । कुशल सुन्दर श्रेष्ठको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिको कार्यकाल सम्पन्न भएसँगै साधारणसभाबाट नयाँ नेतृत्वसहित कार्यसमिति चयन हुनेछ ।

देशभरका सबै च्याप्टरहरूको साधारणसभा सकिएपछि केन्द्रीय साधारणसभा आयोजना गरिएको हो । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफलतापूर्वक समापन गर्दै नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । उनको नेतृत्वमा उद्यम तथा व्यवसाय प्रवर्द्धनसँग सम्बन्धित विविध कार्यक्रम भएका छन् । विशेष गरी उद्यममा युवालाई आकर्षित गर्ने गरी मञ्चले गतिविधि गर्दै आइरहेको छ ।

नेपाली युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००३ सेप्टेम्बरमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहने गरी मञ्च स्थापना भएको हो । शुरुवाती दिनहरूमा देशमा राजनीतिक अस्थिरता, आपतकालीन अवस्था र आर्थिक अन्यौलताले युवा उद्यमशीलतामा निराशा छाएको बेला गौरव अग्रवालको नेतृत्वमा स्थापित भएको एनवाईईएफले आजसम्म हजारौं युवालाई उद्यमशीलताको यात्रामा अभिप्रेरणा प्रदान गर्दै आएको छ ।

एनवाईईएफले विचार आदानप्रदान, तालिम, शिक्षा, नेटवर्किङ र नीति बहसमार्फत युवाबीच उद्यमशील चेतना फैलाउँदै आएको छ । हाल मञ्चको देशभर १४ वटा च्याप्टरहरू सक्रिय छन्, जसले सातै प्रदेशलाई समेटेका छन् ।

मञ्चमा हालसम्म साहरा जोशी, रितेश लामिछाने, उदिप श्रेष्ठ, प्रकाशदेव पालिखे, निकोशल पाण्डे, अजय कुमार श्रेष्ठ, वरुण लोहिया, मन्गेश लाल श्रेष्ठ, निरञ्जन श्रेष्ठ, समिर थापा, अजय प्रधानाङग, अनुज कुमार श्रेष्ठ, शौरभ ज्योती, गौरव अग्रवालले नेतृत्व प्रदान गरिसकेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.