तराईमा उत्पन्न परिस्थितिप्रति युवा उद्यमी मञ्चको चिन्ता: शान्ति, सद्भाव र संवादका लागि आह्वान

काठमाडौं । सुनसरी, सिराहा, धनुषा, सप्तरी लगायत तराईका विभिन्न जिल्लाहरूमा हालै विकसित भएका घटनाहरूबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले गहिरो दुःख तथा चिन्ता व्यक्त गरेको छ ।

मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताबीचको सद्भावले नै राष्ट्रिय विकासलाई सुदृढ बनाएको उल्लेख गर्दै विज्ञप्तिमा कुनै पनि प्रकारको हिंसा, असहिष्णुता र सामाजिक विभाजनले उद्योग, व्यापार, लगानी, पर्यटन तथा रोजगारीका गतिविधिमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ । मञ्चले जुनसुकै असहमति वा विवादको समाधान शान्तिपूर्ण संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत हुनुपर्नेमा जोड दिएको छ ।

 

यस संवेदनशील परिस्थितिमा अपुष्ट सूचना, अफवाह र उत्तेजक सामग्रीको प्रसार नगरी सत्यतथ्यमा आधारित सूचना मात्र साझा गर्न मञ्चले सम्पूर्ण नागरिक, उद्यमी र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। साथै नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रलाई आपसी संवादमार्फत परिस्थिति सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न आह्वान गरिएको छ । मञ्चको अध्यक्ष सुदीप घिमिरे हुन् ।

You might also like

Comments are closed.