नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा आभूषण ज्योति कंसाकार

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को २३औं वार्षिक साधारणसभाले आभूषण ज्योति कंसाकारको अध्यक्षतामा सन् २०२६–२०२७ का लागि नयाँ राष्ट्रिय कार्यकारी परिषद् निर्विरोध चयन गरेको छ ।

साधारणसभाले युवा उद्यमशीलता, नेतृत्व विकास र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कंसाकार ‘जीवी’का संस्थापक अध्यक्ष तथा देवज्योति ग्रुपका अध्यक्ष हुन् ।

नयाँ कार्यसमितिको निबर्तमान अध्यक्षमा सुदीप घिमिरे, प्रथम उपाध्यक्षमा निविता प्रधान र द्वितीय उपाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् । कार्यकारी सदस्यमा पविन्द्रबहादुर गौतम, रिचा श्रेष्ठ, सुबिन श्रेष्ठ, बिलाशा श्रेष्ठ, अभिमन्यु गोल्छा, तर्क राज भट्ट, दीपिका उपाध्याय सुवेदी, डा. सोनु कुमार र एन्बिस रञ्जित छन् ।

पदभार सम्हाल्दै अध्यक्ष कंसाकारले सदस्यहरूको सक्रिय सहभागिता, नवप्रवर्तन र सहकार्यलाई प्राथमिकतामा राखेर मञ्चलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले युवा उद्यमीका समस्या र आवश्यकतालाई नीतिगत तहसम्म पुरÞ्याउँदै उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्न पहल गर्ने बताए । साथै, व्यावसायिक सञ्जाल विस्तार र युवा उद्यमीको क्षमता अभिवृद्धिमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले गरेका थिए । सभामा वार्षिक प्रगति समीक्षा, वैधानिक प्रतिवेदन अनुमोदन तथा आगामी रणनीतिक प्राथमिकतामाथि छलफल गरिएको थियो ।

सन् २००३ मा स्थापना भएको मञ्चले हाल सातै प्रदेशका १५ च्याप्टरमार्फत १,२०० भन्दा बढी युवा उद्यमीलाई प्रतिनिधित्व गर्दै आएको छ ।

You might also like

Comments are closed.