युवा उद्यमी मञ्चसँग सहकार्य गर्न तयार छौंः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।  मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेको नेतृत्वमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको टोली महासंघको कार्यालय टेकुमा पुगेर नवनिर्वाचित महासंघको नेतृत्वलाई मञ्चले बधाई ज्ञापन गरेको हो ।

उक्त अवसरमा बोल्दै महासंघका अध्यक्ष गोल्छाले युुवा उद्यमी विकासका क्षेत्रमा काम गर्नका लागि युवा उद्यमी मञ्चसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । युवाहरुलाई स्वरोजगार बनाए मात्रै देशको आर्थिक विकास सम्भव हुने गोल्छाले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले उद्योग व्यवसायको क्षेत्रमा युवाहरु अगाडि बढ्नुपर्ने बताउँदै महासंघले युवा व्यवसायीहरुलाई प्रोत्साहन गर्ने धारणा राखे ।

युवा उद्यमी मञ्च महासंघसँग सहकार्य गरेर अगाडि बढ्नका लागि तयार रहेको अध्यक्ष पालिखेले बताए । युवा उद्यमीहरुको मनोबल उच्च राखेर उद्योग, व्यवसायको क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने पालिखेले भनाइ थियो । महासंघले पनि युवाहरुलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउनेमा आफूहरु आशावादी रहेको अध्यक्ष पालिखेले उक्त अवसरमा बताए । युवा उद्यमीहरुको विकासका लागि निजी क्षेत्र र सरकारले विशेष ध्यान दिदै प्रोत्साहन गर्दै उचित वातावरण सिर्जना गर्नुपर्ने अध्यक्ष पालिखेको भनाइ छ ।

मञ्चले नेपालमा युवा उद्यमशीलताको क्षेत्रमा सन् लामो समयदेखि निरन्तर काम गर्दै आइरहेको छ । मञ्च अन्तर्गत देशभर सात वटा च्याप्टर सक्रिय छन् । च्याप्टरलाई आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको अध्यक्ष पालिखेले बताए ।

You might also like

Comments are closed.