अनलाइन व्यापारलाई प्रोत्साहन गर्न युवा उद्यमी मञ्चको आग्रह

काठमाडौं । अनलाइन ब्यापारलाई प्रोत्साहन गर्न नेपाली युवा उद्यमी मञ्चले आग्रह गरेको छ । केही युवा उद्यमीहरुले आफूमा भएको ज्ञान र सीपलाई सदुपयोग गर्दै अनलाइन व्यापारको थालनी गरेकाले राज्यले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने मञ्चले जनाएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘युवाहरुले सानो पुँजीबाट उद्यमशीलताको विकास गरिरहेका छन् । यसले रोजगार, स्वरोजगारसँगै नेपाली श्रम बाहिर खेर जान रोक्नको लागि एक महत्वपूर्ण कोशेढुङ्गा बन्ने प्रायः निश्चित छ ।’

अहिलेको संक्रमणको स्थितिमा एकै स्थानमा धेरै जना जम्मा भएर किनमेल गर्दा जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट घरबाट नै खरिद गर्दा जोखिम कम हुने भएकाले अनलाइन बिजनेशमा धेरै युवा संलग्न छन् । यस्तो प्रकारको व्यापार महामारी नियन्त्रण र रोकथाम गर्न प्रभावकारी सिद्ध भएको पालिखेले बताए ।

‘नेपालका युवा अन्य देशका युवा जत्तिकै परिश्रमी र प्रतिभावान छन् भन्ने कुरामा दुईमत नहोला । यस्ता कुरालाई आत्मसात गर्दै सरकारले अनलाइन व्यापारमा संलग्न युवालाई प्रोत्साहन गर्नु आजको टड्कारो आवश्यकता हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘सरकारको विद्यमान नीति नियम र स्पष्ट मार्गचित्र अनलाइन व्यापारको लागि नभएको वर्तमान अवस्थामा छिटो भन्दा छिटो नियम कानुन बनाई युवा उद्यमीलाई उनीहरुले गरेको उल्लेखनीय कार्यमा सहयोग र आवश्यक समर्थन गर्नुपर्छ । जसले त्यस्ता प्रकारका व्यापार गर्छ उसले सुरक्षाका सम्पूर्ण उपायको पालना गर्नुपर्छ । ता कि कोभिड–१९ को महामारीबाट बच्न सकियोस् ।’

सरकारले अनलाइन व्यापारलाई हौसला प्रदान गर्न र उक्त व्यवसायमा संलग्न सबैको पीर मर्कालाई मनन् गरी उनीहरुमा भएकोे जाँगर र आत्मविश्वासलाई सम्मान गर्नु अपरिहार्य हुन आएको पालिखे बताउँछन् ।

lcci
You might also like

Comments are closed.