निजी विद्यालय सञ्चालकहरूको शिक्षा विधेयकप्रति आपत्ति, २९ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् । माग सम्बोधन नभए आगामी साउन २९ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।

हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा विधेयकमा राखिएका केही वाक्यांश र प्रावधान अस्वीकार्य भएको बताएका छन् । उनीहरूले ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउन, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द खारेज गर्न, हालको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन र छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक तथा मासिक शुल्क कायम राख्न माग गरेका छन् ।

सञ्चालकहरूले निर्माणाधीन शिक्षा ऐनमा कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भएका संस्थाहरूको स्थायित्व सुनिश्चित हुने प्रावधान राख्न, पूर्वाग्रहरहित नीति बनाउन र सरोकारवालाको सुझावलाई समेट्न आग्रह गरेका छन् । माग पूरा नभए तोकिएको मितिदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने उनीहरूको चेतावनी छ ।

You might also like

Comments are closed.