इरान–मध्यपूर्व तनाव चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको सम्भावित युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सन् २०२२ पछि पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।

अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण तथा तेल डिपोहरूलाई लक्षित गरिएको आक्रमणपछि विश्वभर ऊर्जा आपूर्तिमा अवरोध आउने त्रास बढेको छ । सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यस्तै, नाइमेक्स लाइट स्वीट क्रुडको मूल्य पनि १७ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारल १०६.७७ डलर पुगेको छ । विश्लेषकहरूले यस साता मूल्य १०० डलरसम्म पुग्ने अनुमान गरे पनि एसियाली कारोबार सुरु भएको केही मिनेटमै मूल्यमा अप्रत्याशित उछाल देखिएको हो ।

स्ट्रेट अफ हर्मुजमा अवरोधको चिन्ता

विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजबाट तेल र ग्यास आपूर्तिमा अवरोध आउन सक्ने डरले बजारमा थप अस्थिरता देखिएको छ । इरान र वरपरका क्षेत्रमा ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएका दृश्य सार्वजनिक भएपछि लगानीकर्ताहरू झस्किएका छन् ।

विश्लेषकहरूका अनुसार यदि उक्त जलमार्ग लामो समयसम्म बन्द भयो भने तेलको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

उपभोक्ता र व्यवसायमा असर

तेलको मूल्यमा आएको वृद्धिले विश्वव्यापी रूपमा उपभोक्ता र व्यवसायमा प्रत्यक्ष असर पर्ने देखिएको छ । पेट्रोल, डिजेलका साथै हवाई इन्धन र रासायनिक मल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्यसमेत बढ्ने सम्भावना रहेको बताइएको छ ।

गल्फ क्षेत्रबाट हुने ऊर्जा आपूर्ति मुख्यतया एसियाली मुलुकहरूले प्रयोग गर्ने भए पनि अहिले एसियाली उपभोक्ताहरूले अमेरिकी ग्यासका लागि उच्च मूल्यमा बोलकबोल गर्न थालेका छन् । यसको प्रभावस्वरूप युरोपतर्फ जाँदै गरेका केही ग्यास ट्याङ्करहरू बीच बाटोबाटै एसियातर्फ मोडिन थालेका छन् ।

राजनीतिक घटनाक्रम र सेयर बजारमा असर

यसैबीच इरानमा सर्वोच्च नेता अली खामेनीका उत्तराधिकारीका रूपमा उनका छोरा मोजताबा खामेनी चयन गरिएको खबर सार्वजनिक भएको छ । यसले इरानमा कट्टरपन्थी समूहहरूको प्रभाव कायम रहेको र क्षेत्रीय तनाव तत्काल कम हुने सम्भावना न्यून रहेको संकेत गरेको विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्यमा आएको वृद्धिलाई इरानको परमाणु खतरा हटाउन तिर्नुपर्ने “सानो मूल्य” भएको प्रतिक्रिया दिएका छन् । यद्यपि अमेरिकी ऊर्जा सचिवले तेल पूर्वाधारमा भएको आक्रमणमा अमेरिका नभई इजरायल संलग्न रहेको बताएका छन् ।

तेलको मूल्य वृद्धिको प्रभाव सेयर बजारमा पनि देखिएको छ । सोमबार एसिया–प्रशान्त क्षेत्रका सेयर बजारहरूमा गिरावट आएको छ । जापानको निक्केई २२५ सूचकांक ५ प्रतिशतभन्दा बढीले घटेको छ भने अष्ट्रेलियाको एएसएक्स २०० सूचकांक ३.५ प्रतिशतले घटेको छ ।

विश्लेषकहरूले मध्यपूर्वमा तनाव बढिरहेमा विश्वव्यापी मुद्रास्फीति अझै बढ्न सक्ने र त्यसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने चेतावनी दिएका छन् ।

( एजेन्सीको सहयोगमा )

You might also like

Comments are closed.