भन्सारमा आइपुग्यो बहुप्रतिक्षित ‘ओमोडा ५ इभी’, छिट्टै नेपाली सडकमा देखिने

काठमाडौं । नेपाली बजारमा बिद्युती सवारीको आकर्षण बढिरहेको छ । अटोमोबाइल बजार विद्युतीय गाडीतर्फ आकर्षित हुने क्रम बढेसँगै बिद्युतीय गाडी आयात गर्ने क्रम पनि बढेको छ । नेपालमा नयाँ नयाँ मोडलका गाडीहरु भित्रिरहेका छन् ।

यसैक्रममा बहुप्रतिक्षित ‘ओमोडा ५ इभी’ छिट्टै नेपाली बजारमा बिक्री हुने भएको छ । ओमोडाको एउटा ट्रायल गाडी भन्सार पास भएर नेपाल भित्रिसकेको छ । सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल प्रा.लि.ले यो गाडी नेपालमा ल्याएको हो । कम्पनीले अबको केही दिनभित्रै सय वटा गाडी नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।  फेब्रुअरी दोस्रो सातासम्ममा ओमोडा नेपाली ग्राहकमाझ डेलिभरी गर्ने कम्पनीको तयारी छ ।

‘नेपाली बजारमा ओमोडाको पर्खाइमा धेरै ग्राहक रहेको हामीले पाएका छौं,’ कम्पनीका एक प्रतिनिधिले भने, ‘ग्राहकको प्रतिक्षा अब सकिदैछ । छिट्टै ओमोडा नेपाली सडकमा देख्न र ड्राइभ अनुभव गर्न सकिनेछ ।’

चिनियाँ ब्राण्ड चेरीको पहिलो इलेक्ट्रिक क्रस ओभर ओमोडा नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । कम्पनीले यो गाडीको मूल्य पनि सार्वजनिक गरेकोछ । प्रिबुकिङ गर्ने ग्राहकका लागि सिंगल टोनको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ र डुअल टोनको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ नेपालमा आउने ओमोडा अन्य प्रतिस्पर्धी सेगमेन्टहरु मध्येमा उत्कृष्ट रहेको कम्पनीको दावी छ । ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, ३४० न्युटनमिटर टक लगायतको विशेषता ओमोडामा छ । यो गाडीले ५१० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्नेछ । हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ । ६ वटा एअरब्याग जडित गरिएको यो गाडी सुरक्षाका दृष्टिकोणले पनि उत्कृष्ट मान्न सकिने कम्पनीको दावी छ ।

You might also like

Comments are closed.