पोखरा । पोखरामा खरिद गरेको भन्दा तेब्बर मूल्यमा प्याज बेच्ने होलसेल पसल शिल गरिएको छ । पोखराको प्रदर्शनी केन्द्र स्थित कृषि उपज बजारको सटर नम्बर ५१ मा रहेको सन्दीप श्री ट्रेडर्सले खरिद गरेको भन्दा तेब्बर मूल्यमा प्याज बेचेको पाइएपछि सो पसललाई शिल गरिएको हो । विहीबार गरिएको अनुगमनका क्रममा प्रतिकिलो ४० रुपैयाँमा खरिद गरिएको प्याज प्रतिकिलो १११ रुपैयाँमा बेचेको भेटिएपछि पसल शिल गरिएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइरालाले जानकारी दिए । शिल गरिएको सो ट्रेडर्सको गोदाममा ५ सय बोरा प्याज रहेको उनले बताए ।
सन्दीप ट्रेडर्सले प्रतिकेजी १११ रुपैयाँमा प्याज बेचेपनि बजारमा विहीबार पोखरामा प्याजको खुद्रा मूल्य केवल ८५ देखि ९० रुपैयाँ मात्र छ । तर शुक्रबारदेखि मूल्य बढ्ने भन्दै मूल्य बढाएर प्याज बेचेको पाइएको उनले जानकारी दिए । शिल गरिएको पसलका सञ्चालक सन्दीपलाई तारिखमा बोलाइएको छ । उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन भनिएको कोइरालाले जानकारी दिए ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका प्याज ब्यापारीहरुले प्याज स्टक राखेर कृतिम अभाव सिर्जना गरेपछि पोखरामा प्याजको अभाव सिर्जना भएको छ । प्याजको अभाव देखाएर रातारात मूल्य बृद्धि गर्ने नियतले प्याजको होलसेलर ब्यापारीहरुले पसल नै बन्द गरेको पाइएको छ । केहि सिमित पसलहरुले भने आफू खुशी प्याजको मूल्य बृद्धि गरेर बेचेको पाइएको छ ।
प्याजको अभावसँगै मूल्य आकासिएपछि विहीबार प्रदेश बजार अनुगमन समितिले पोखराको बजार अनुगमन गरेको जनाएको छ । प्याज स्टक हुँदाहुँदैपनि कृतिम अभाव सिर्जना गर्ने उद्धेश्यले बन्द गरिएका पसलहरु खोल्नपनि अनुगमन समितिले निर्देशन दिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए ।
Comments are closed.