चालु आर्थिक वर्षको दुई महिनामा ९.१७ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशतमा सीमित भएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा रु एक खर्ब ८० अर्ब १७ करोड चार लाख खर्च भएको हो।

यस वर्ष सरकारको कुल बजेट रु १९ खर्ब ६४ अर्ब ११ करोड रहेको छ। चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमा हालसम्म रु एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख बराबर (९.६७ प्रतिशत) खर्च भएको छ।

त्यस्तै, पुँजीगत खर्च भने निकै सुस्त रहेको छ। रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा रु छ अर्ब ३५ करोड ३३ लाख (१.५६ प्रतिशत) मात्र खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा रु ५९ अर्ब ६२ करोड ९९ लाख (१५.८९ प्रतिशत) खर्च भएको तथ्यांकमा देखिन्छ।

राजस्व संकलनमा पनि लक्ष्यअनुसार प्रगति भएको छैन। सरकारको वार्षिक राजस्व लक्ष्य रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख भए पनि भदौ मसान्तसम्ममा १०.४३ प्रतिशत अर्थात् रु एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख मात्र संकलन भएको छ।

यसै अवधिमा कर राजस्वतर्फ रु एक खर्ब ५० अर्ब ४० करोड १३ लाख (११.३५ प्रतिशत) संकलन भएको छ भने गैरकर राजस्वतर्फ रु सात अर्ब १३ करोड २१ लाख (४.६२ प्रतिशत) मात्र उठेको छ। वैदेशिक अनुदानतर्फ सरकारको वार्षिक लक्ष्य रु ५३ अर्ब ४४ करोड ६९ लाख भए पनि हालसम्म दुई दशमलव ३८ प्रतिशत अर्थात् रु एक अर्ब २७ करोड ३७ लाख मात्र प्राप्त भएको छ।

You might also like

Comments are closed.