काठमाडौं । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएका छन् । कोरोना महामारीको संक्रमण बढेसँगै हस्पिटलहरुमा अक्सिजन अभाव हुन थालेपछि घिमिरेले अक्सिजन सिलिण्डर, अक्सिजन ब्याग र अक्सिजन मास्क लगायतका स्वास्थ्य सामग्री ल्याउन लागेका हुन् ।
ग्रुप अन्तर्गतका कम्पनीहरु एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत यी सामग्रीहरु नेपाल लायने तयारी भएको अध्यक्ष घिमिरेले जानकारी दिए । ‘पहिलो चरणमा यही सोमबार हवाई मार्गबाट र दोस्रो चरणमा जेठ ७ गतेभित्र स्थलमार्गबाट यी सामग्री नेपाली आइपुग्छन्,’ उनले भने ।
पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग, ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर तथा दोस्रो चरणमा अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २ हजार २ सय युनिट, ४० लिटर क्षमताका अक्सिजन सिलिण्डर २२५० युनिट नेपाल आइपुग्ने घिमिरले जानकारी दिए ।
कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र अक्सिजन अभावमा सर्वसाधरणले ज्यान गुमाइरहनु परेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अक्सिजन सिलिण्डर, अक्सिजन ब्याग लगायतका सामान नेपाल ल्याउन लागिएको घिमिरेले बताए । ‘यो विषम परिस्थितिमा सबैले राज्यलाई आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने हुन्छ,’ घिमिरेले भने, ‘अहिले तत्कालका लागि अक्सिजन अभाव कम गर्दै बिरामी बचाउनुपर्नेमा हामी लाग्नुपर्छ ।’
पहिलो र दोस्रो चरणमा स्वास्थ्य सामग्री ल्याइसकेपछि थप सामान पनि नेपाल ल्याइने घिमिरेले बताए । व्यावसायिक दृष्टिकोणबाट नभई सेवाको दृष्टिकोणबाट स्वास्थ्य सामग्री नेपाल ल्याउन लागिएको उनले बताए ।




Comments are closed.