काठमाडौं । निजी क्षेत्र तथा नागरिक समाजको संयुक्त अग्रसरतामा नेपालमा १० वटा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी उनीहरुले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेका हुन् । १२ करोड रुपैयाँ खर्च गरेर उनीहरुले अक्सिजन प्लान्ट स्थापनाको अभियान अगाडि बढाएका हुन् ।
कोरोना संक्रमणको दोस्रो चरणको महामारीसँगै अक्सिजन अभाव भइरहेको अवस्थामा स्थापना हुने प्लान्टले अक्सिजन अभाव कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । स्वास्थ्य मन्त्रालय तथा सिसिएमसीसँग सहकार्य गरी प्लान्ट आयात गरी स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अमेरिका नेपाल मेडिकल फाउण्डेसन, बतास अग्रनाइजेसन, ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी, शंकर इन्फिनिटी, हुमानिटी फाउण्डेसन, मिसन रिव्युल्ड नेपाल, क्रियसन रिभिजनिङ द चेन्ज र कोकाकोला फाउण्डेसनको संयुक्त प्रयासमा अक्सिन प्लान्ट स्थापना हुन लागेको हो । फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । एउटा अक्सिजन जेनेरेटरले २४ घन्टामा ५० बेड र १५ सिलिण्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्न सक्नेछ ।
नेपालीले नेपालीका लागि अक्सिजन फर नेपाल नाराका साथ अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।
Comments are closed.