मेला अवलोकन गर्ने मात्रै होइन उद्यमी जन्माउने थलोको रुपमा चिनाउँछौ

पवन कुमार प्रजापति, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

‘लगानीको सम्वर्द्धन : ‘उद्योग ब्यवसायको प्रवर्द्धन’ भन्ने मूल नारासहित पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँ बजारमा ‘ राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना गरिएको छ । मंसिर १६ गतेदेखी शुरु भएको मेला २५ गतेसम्म चल्नेछ । मेलालाई अवलोकन गर्ने स्थान मात्र नभई उद्यमी जन्माउने थलोको रुपमा चिनाउने बताइएको छ । ।यसैसन्दर्भमा संघका अध्यक्ष पवन प्रजापितसँग आर्थिक आवाजका लागि प्रेम पुनथोकीले गरेको कुराकानीः

कोरोना माहामारीको समयमा २ वर्ष औद्योगिक मेला रोकियो, अहिले फेरि मेलाको आयोजना गर्नुभएको छ । यो निरन्तरता मात्रै हो कि केही फरकपन दिन्छ मेलाले ?

पोखरामा २०४२ साल तिरबाटै मेलाहरु गरिँदै आएको हो । कोरोना महामारीका कारण २ वर्ष हामीले गर्न पाएनौं । मेलाको सुरुवात पनि पोखरा उद्योग वाणिज्य संघले गरेको हो , पहिलो कुरा त यसको नियमिततामा पनि हामी सचेत छौं ।

jutta mela

अर्कोतिर एक तरिकाले भन्दा अहिलेको अवस्था व्यवसायीको हकमा असहज परिस्थिति पनि हो । यो अवस्थामा पनि हामीले मेलाको आयोजना गरेका छौं । हामीले यो मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छौं । हामीले यहीँ उत्पादन गर्नुपर्छ र यसको बजार पनि यहीँ खोजेर समृद्धिको यात्रामा अगाडि बढ्नु पर्छ भन्ने उद्धेश्य राखेका छौं ।

परनिर्भरताको अन्त्यमा लागि सीपमुलक व्यवसायलाई प्राथमिकता दिएका छौं । मेलामा अवलोकन मात्र भन्दा पनि आफूलाई उद्यम व्यवसायमा जोडिने चाहनेको लागि तालिमको माध्यमबाट उद्यममा जोडिनको लागि माध्यम बन्नको लागि पहल पनि गर्दैछौं । यसको लागि मेला अवधिमा उहाँहरुको रुचीका आधारमा तथ्यांक संकलन गर्ने र मेला पश्चात उहाँहरुको विना लगानी तालिम उपलब्ध गराउँछौ । यसबाट उहाँहरु सीप सिकेर विदेशै जानपर्ने अवस्थामा पनि सहयोगी बन्ने र स्वदेशमै पनि व्यवसाय गर्न चाहेको अवस्थामा व्यवसाय गर्नुहुन्छ ।

 मेलाले समग्र पोखराको विकासमा कस्तो खालको प्रभाव राख्छ ?

पोखराको पर्यटनको विकास कसरी गर्ने, स्वास्थ्य क्षेत्रको विकास कसरी गर्ने, पोखराको आर्थिक क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भ भित्र रहेर विज्ञहरुको सहभागितामा टक सो मार्फत समस्याको विश्लेषण र समाधानका उपाय खोज्ने प्रयत्न रहनेछ ।

ड्ड कोरोना महामारीले मारमा परेका व्यवसायीको अवस्थालाई मेलाले माथि उकास्न कसरी सहयोग गर्छ ?

कोरोना महामारी पश्चात व्यवसाय धरायसायी भएका छन् । व्यवसायीहरु बैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यी सबैकुरासँग जुधेर पनि व्यवसाय गर्नुपर्छ भन्ने कुरामा सुखद सन्देश हामीले दिन खोजेका छौं । मेलाले केही हदसम्म व्यवसायीले आफ्नो अवस्थालाई देखाउनको लागि मेला माध्यम बन्न सक्छ ।

पोखराको हकमा पर्यटन व्यवसाय महत्वपूर्ण क्षेत्र हो । कोरोना महामारीको सबैभन्दा बढी प्रभावित क्षेत्रको रुपमा पनि यसलाई लिइन्छ, मेलाले पर्यटन क्षेत्रलाई कसरी समेट्ला ?

पोखरा भनेको पर्यटनको हव हो । हामी यसमै निर्भर छौं ,जबसम्म हामी पोखरामा पर्यटक भित्र्याउन सक्दैनौं तबसम्म पोखराको विकासको कल्पना पनि गर्न सक्दैनौं । पर्यटक भित्राउनको लागि के गर्न सकिन्छ, यसका संभावना र समस्याको खोजी त हुन्छ नै यही अवसर पारेर पोखरामा पर्यटक भित्राउने काम समेत हुन्छ । विभिन्न संचार माध्यम मार्फत मेलाको प्रचार प्रसार हुने र यो समय घुम्ने समय पनि भएकोले पर्यटक आउने क्रम पनि बढी हुनाले मेला प्रभावकारी हुन्छ । अर्कोतिर हामीले यही अवसरमा पोखरा आउनुपर्छ, घुम्नु पर्छ र बस्नुपर्छ भन्ने सन्देश दिने कार्यक्रम पनि गर्छौं ।

मेलामा अन्तर्राष्ट्रिय सहभागिता कस्तो रहला ?

मेलामा अन्तराष्ट्रिय व्यवसायीका स्टल पनि रहन्छन् । जसमा बंगलादेश, पाकिस्तान, भारत लगायतका मुलुकका व्यवसायी पनि आएर आफ्ना उत्पादनहरु राख्दै हुनुहुन्छ । छालाका सामान, कपडा लगायतका सामग्री प्रर्दशनमा रहन्छन् । त्योसँगै अवलोकनका लागि अन्तर्राष्ट्रिय सहभागिता होस् भनेर यसको सन्देश पुर्याउने काम गरेका छौं ।

यहाँको नेतृत्व नयाँ पनि हो,  चुनौतीलाई कसरी हेर्नुभएको छ ?

कोरोना महामारी पश्चात पोखरा उद्योग वाणिज्य संघको बागडोर सम्हाली रहँदा हाम्रा धेरै अफ्ठ्याराहरु छन् । पोख्रेली उद्योगीहरुको हितमा कसरी काम गर्न सकिन्छ भन्ने कुरामा हामी लागिरहेका छौं । हामी निर्वाचित भएपछि विभिन्न कारणले समय दिन पाएका छैनौं । यही अवस्थाकाबीचमा पनि हामीले व्यवसायीको उत्सवको रुपमा रहेको मेलाको आयोजना गरेका छौं । कति काम गर्न सक्छौं सक्दैनौ भन्ने कुरा भोलीका दिनमा पनि देखिएला । हामी यहाँका उद्योगी, व्यवसायी, प्रवुद्य व्यक्तिहरु, हाम्रो पूर्व अध्यक्ष सबैसँग समन्वय गरेर अगाडि बढ्छौं ।

मेलाको आयोजना गरिरहँदा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानले समेत चर्चा बटुलेको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?
अन्तराष्ट्रिय विमानस्थल तयार भएको छ । हाम्रो दुई छिमेकी मुलुक भारत र चीनका नागरिकको गन्तव्यको रुपमा पोखरालाई बनाउनुपर्छ भन्ने हाम्रो धारणा छ ।

भारत र चीनका कम्तिमा १०/१० लाख पर्यटक पोखरा भित्र्याउन सकेको अवस्थामा होटल व्यवसाय र पर्यटनको संभावना त छ नै अर्को तिर यहाँका उत्पादन चाउचाउ, मासु, तरकारी, कपडा, स्थानीय उत्पादन, भाँडा लगायतका उत्पादनको बजारीकरणमा सहयोग पुग्छ । यसले सम्पूर्ण अर्थतन्त्रको इको सिस्टमलाई सहयोग पुराउन सक्छ ।

समग्रमा मेलाले दिने सन्देश के हो ?

मेलाको मुख्य उद्धेश्य हाम्रा व्यवसायीहरुले दक्ष कामदार पाएका छैनौं भन्दै गुनासो गर्दै आउनु भएको छ । नेपाली युवाहरु विदेशमा विना सीप जानु परेको अवस्था छ । हामी तिनै व्यवसायीको दक्ष कामदारको अभावको अवस्थालाई चिर्न चाहन्छौं ।

अर्कोतिर तालिम पश्चात व्यवसायी बन्न चाहनेलाई बिउ पूँजीको समेत प्रवन्ध गर्दैछौं । अहिले पोखराका व्यवसायी के उत्पादन गरिरहेका छन् भन्ने कुराको समेत सबै तिर जानकारी छैन मेला ति उत्पादनका प्रर्दशनी समेत गर्ने माध्यम बन्नसक्छ । यो अवसरमा पर्यटकलाई प्रदर्शन गराएर उत्पादनको जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो प्रयत्न रहन्छ ।

 

 

You might also like

Comments are closed.