स्वस्थ प्रतिस्पर्धासहित सामुहिक प्रयास : शैक्षिक क्षेत्र सुधारमा फरक अभ्यास गर्दै ‘प्याब्सक

पुरुषोत्तम कँडेल, काठमाडौं । शैक्षिक क्षेत्र सुधार र शैक्षिक संस्थाको हकहितमा काम गर्न धेरै संस्था स्थापना भएका थिए । प्याब्सन, एनप्याब्सन जस्ता संस्थाले निजी तथा आवासीय विद्यालयको प्रतिनिधित्व गर्दै काम गर्दै आएका थिए । यसैबीचमा काठमाडौंको कपन क्षेत्रका निजी तथा आवासीय विद्यालयले फरक सोच र उद्देश्यका साथ २०६१ सालमा एउटा संस्थाको स्थापना गरे, ‘निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)’ ।

काठमाण्डौं उपत्यकाभित्र रहेका निजी तथा संस्थागत विद्यालयलाई संगठित गरी आफ्नो हकहित र व्यावसायिक सुरक्षा, शैक्षिक स्तर वृद्घि गर्नका लागि अतिरक्त क्रियाकलाप, खेलकुद, गोष्ठी, तालिम र विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्न आवश्यक सहयोग पु¥याउने र विशेषगरी शैक्षिक संस्थासँग हरेक कार्यमा परस्पर समन्वय गरी सो कार्यमा सहयोग गर्न संस्थाको स्थापना गरिएको बताउँछन्, संस्थापक अध्यक्ष केदारराज पुडासैनी ।

‘हामीले स्थापना गर्दा निजी विद्यालयका प्रिन्सिपल तथा सञ्चालकबीचको सम्बन्धलाई सुदृढ बनाउने, न्यानो बनाउने, प्रतिस्पर्धा एक आपसमा स्वस्थ बनाउने हिसाबले संस्थाको स्थापना गरेका हौं’ उनी सम्झन्छन् । प्याब्सकमा आवद्ध भएका विद्यालय र यो क्षेत्रका विद्यालयका विद्यार्थीको अतिरिक्त क्रियाकलापमा संलग्न गराउने, स्वस्थ र मर्यादित परीक्षा सञ्चालन गर्ने र विद्यार्थीको नतिजा राम्रो बनाउने, स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य स्थापना कालमा राखेको उनको भनाइ छ ।

संस्थाका महासचिव राजन श्रेष्ठ संस्थाले विद्यालयस्तरका विशेष गरी विद्यार्थीको पढाई, शिक्षक, सञ्चालक, प्रिन्सिपलको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको बताउँछन् । प्याब्सकको आफ्नै क्षमता विकास, भौतिक संरचनाको विकास, समन्वय तथा सहजीकरणको विस्तार, संस्थागत सहभागिता तथा पहिचानको विकास, सदस्यता विस्तार लगायतको क्षेत्रमा पनि काम भइरहेको उनको भनाइ छ ।

संस्थाले सदस्य विद्यालयको सहभागितामा अतिरिक्त क्रियाकलाप अन्तगर्तका कार्यक्रम पनि गर्दै आएको छ । महासचिव श्रेष्ठ हिजो देखि गर्दै आएका गतिविधिलाई नियमत गर्ने, आवश्यक सुझाव तथा सल्लाहको आधारमा सुधार गर्ने, गरिरहेका कामलाई अझै राम्रो बनाएर कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल हुने गरेको बताए ।

‘अहिले विश्वविद्यालय लक्षित गतिविधि कम भइरहेको छ । प्रिन्सिपल र सञ्चालकको संस्था भएपनि त्यति चलायमान हुन सकिरहेको छैन । विद्यालयमा भएकै जनशक्तिलाई थप सक्रिय बनाएर ‘मोर एकेडेमिक’ ‘मोर स्कीलफूल’ र ‘मोर ट्रेन’ बनाउने भन्ने कुरामा सोंच्नुपर्छ, ’ उनले भने । सोंच्दै आएको तर गर्न नसकिरहेको ‘कल्चरल एक्स्चेन्ज’ कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको उनले बताए । ‘नयाँ धेरै गर्नुभन्दा पनि गरिरहेका गतिविधिलाई थप व्यवस्थित रुपमा गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

प्याब्सकका वरिष्ठ सल्लाहाकार नारायणबाबु तिम्सिना प्याब्सकले काम गर्दा प्याब्सन, एनप्याब्सन जस्ता संस्थाले समेट्न नसकेका विषयमा काम गर्नुपर्ने बताउँछन् । शिक्षक तथा विद्यार्थीसँग जोडिएर काम गर्ने हुँदा अन्तराष्ट्रियस्तरको कल्चरल एक्सचेन्जका कार्यक्रम गर्न सकिने उनको सुझाव छ । ‘विश्वस्तरको मेनपावर बनाउनको लागि त्यही स्तरको अध्ययनले मात्र सहयोग पुराउँछ । अहिले क्वालिटी शिक्षकको एकदमै खाँचो छ । वौद्धिक जनशक्ति बाहिरिने क्रम बढ्दो छ । यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरामा प्याब्सकले सोच्ने बेला भएको छ ,’ उनले भने ।

अहिलेको प्रविधिमा आएको परिवर्तनले विद्यार्थीमा फरक किसिमको प्रभाव देखिएको र विद्यार्थीको समय तथा प्रविधिमैत्री विकासको लागि त्यसै अनुरूपका गतिविधिमा प्याब्सकले आफ्नो सक्रियता बढाउनुपर्ने उनको भनाइ छ ।

प्याब्सकका सदस्य विद्यालय प्रतिस्पर्धी रहेको तर प्रतिस्पर्धाका आधार तय गरिनुपर्ने हो तर यसलाई गौण राख्ने काम भएको उनको भनाइ छ । ‘अहिले विद्यालयले आर्थिक कुरालाई मात्र जोड दिएर प्रतिस्पर्धा गर्ने काम भएको छ, यसको आधारको रूपमा पाठ्यक्रम, विद्यार्थीको क्रियाशिलता, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारको आधारमा प्रतिस्पर्धा गर्न पाए राम्रो हुन्छ तर अहिले प्याब्सक मात्र होइन अन्य कुनै पनि संस्था यो मोडलबाट चल्न सकेको छैनन् ,’ उनले भने ।

प्याब्सक अध्यक्ष गेन्द्र लामा संस्थाले धेरै प्रभावकारी काम गरेको बताउँछन् । उनकै शब्दमा गतिविधिका हिसाबले उनको कार्यकाल ‘स्वर्णीम’ अवधि हो । ‘हामीले गरेका कार्यक्रमबाट म सन्तुष्ट छु । हामीले यो समयमा विद्यार्थी, शिक्षक , सञ्चालक सबैलाई समेटेर काम गर्न सफल भयौं । हरेक प्रतिकुल परिस्थितिमा पनि हासिल गरिएको यो उपलब्धिलाई स्वर्णीम उपलब्धीको रूपमा लिन सकिन्छ,’ उनले भने ।

संस्थामा आर्थिक समस्या रहँदा धेरै कार्यक्रम गर्न नसकेको उनको भनाइ छ । ‘अर्थ व्यवस्थापन बिना कुनै पनि काम गर्न नसकिने अवस्था छ नै , यसको साथसाथै संस्था भित्रका साथीहरूमा पूर्ण रूपमा संगठित भएर काम गर्नुपर्छ भन्ने कुराको मान्यताको विकास, संस्थामा क्रियाशिल भएर काम गर्दा यसको लाभ हामीलाई नै हुने हो भन्ने कुराको विकास भएको पाइएन, ’ उनले भने ।

उनले प्याब्सकले फरक ढंगले काम गर्दै आएको बताए । ‘हामी अन्य संस्था भन्दा पृथक छौं, किनकी हामी स्थापनाको हिसाबले पनि भेगीय रूपमा काम गर्ने गरी स्थापित भएका हौं, हरेक विद्यालयले आन्तरिक रूपमा विद्यार्थी तथा शिक्षकको क्षमता विकासको लागि काम गर्दै आएका हुुन्छन् तर हाम्रो जस्ता संगठनमा हुने आवद्धता र सहभागिताले विद्यालयका तिनै योजनामा थप बल पुराउनको लागि मद्धत गर्छन् , ’ उनले भने ।

सानो फोरममा मात्रै भएपनि विद्यार्थी, विद्यार्थीबीच प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गर्ने, शिक्षकको क्षमता विकास, सामुहिक रूपमा साझा योजनाको विकासको लागि काम गर्न संगठनले सहयोग गरेको उनको भनाइ छ ।

You might also like

Comments are closed.