लोप हुँदै रैथाने धान, उन्नत जाततर्फ किसान आकर्षित

रञ्जिता अधिकारी/देउखुरी । दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् ।

घोराही उपमहानगरपालिका– ९ का किसान धनीराम चौधरीले रैथाने धान रोप्न छाडेको चार वर्ष भएको वताए । पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको सुनाए ।
अर्का किसान घोराही– ६का महेश चौधरीले तीन वर्ष अगाडिसम्म रैथाने धान खेती गर्ने गरेको बताए । तिल्की धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो । दाङका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो । अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन्, उनले भने ।

स्थानीय तहले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ प्रदान गर्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले ६१.५ क्वीन्टल उन्नत जातको धानको बीउ वितरण गरेको जनाएको छ । कृषकलाई एक महिनाको समय दिएर माग सङ्कलन गरेर त्यसैअनुसार धानको बीउ खरिद गरेर वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।

उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बीउ खरिदमा समस्या नभएको उनको भनाइ छ । घोराहीमा धान खरिदका लागि रु दुई लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनालले जानकारी दिए । जिल्लाका केही स्थानीय तहका कृषकहरुले अनुदानमा धानको बीउ पाएका छन् भने केही स्थानीय तहका कृषकहरुले धानको बीउ पाउन सकेका छैनन् । अनुदानमा उन्नत धानको बीउ नपाउने स्थानीय तहले धानको बीउको खरिदमा समस्या हँुदा वितरण हुन नसकेको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बीउ पाउन सकेका छैनन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बीउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए । धान खरिदका लागि उपमहानगरपालिकाले गएको बैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कसैबाट पनि निवेदन नआएका कारण धान खरिद हुन नसकेको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले जिल्लामा बीउबिजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बीउ खरिदको लागि सूचना प्रकाशित गरेको थियो । तर, त्यस मूल्यमा धान दिनको लागि कसैले पनि निवेदन नदिएको गौतम बताउनुहुन्छ । जिल्ला बीउबिजन समन्वय समितिले उन्नत धानको बीउको मूल्य रु ७० तोकेको थियो । समन्वय समितिले तोकेको भन्दा बढीमा करिब १ सय रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि कृषकलाई बिक्री गर्ने गरेको बताइएको छ ।

कोभिड–१९ को नियन्त्रणका लागि गरिएको लकडाउने थप समस्या भएको उनको भनाइ छ । आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बीउको स्रोत हुने छ । लामो सययको प्रयासपछि बीउको स्रोत केन्द्र बनाउन थालिएको उनि बताउछन्। अघिल्लो वर्ष उन्नन जातको धानको बीउ वितरण गरेका कारण यस वर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ छ । एक वर्ष रोपेको उन्नत बीउ तीन÷चार वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतम बताउछन् ।

लमही नगरपालिकाले पनि धानको बीउ खरिद गरेर कृषकलाई वितरण नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले बताए । नगरपालिकाले एक हजार सात सय ३८ केजी वितरण गरिएको उनको भनाइ छ । देउखुरी क्षेत्रमा स्रोत केन्द्र भएका कारण खरिद गर्न समस्या नभएको उनि बताउछन् । अनुदानमा धान वितरणका लागि नगरपालिकाले रु एक लाख ५० हजार बजेट छुट्याएको थियो ।

जिल्लामा दशवटा पालिका मध्ये केही पालिकाले अनुदानमा बीउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन् ।
दंगीशरण गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । १० वटा कृषक समूह दुइवटा सहकारीलाई धानको बिउ वितरण गरेको कृषि शाखा प्रमुख योगमाया कँुवरले जानकारी दिइन् । राम धान पाँचसय किलो, सुख्खा –२ १२सय ५० किलो, सुख्खा –३ तीन सय ५० किलो, र बिन्देश्वरी चार सय किलो धानको बिउ वितरण गरिएको जनाइएको छ ।

किसानहरु उन्नत जातको धानतर्फ अकर्षित भएपछि रैथाने धान लोप हुन थालेको किसान बताउँछन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशङ्कर जातका धान लगाउँदै आएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२,सुक्खा –३ जातका धान लगाउने गरेका छन् । रैथाने धान राधा सात, मन्सुली, तिल्की जस्ता धानले कम उत्पादन दिने भएकाले उन्नत जातका धान रोप्ने गरेको किसानहरुको भनाइ छ ।

जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिन मध्ये खेती योग्य जमिन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमिन ६५हजार नौ सय ८० हेक्टरमा खेती गरिएको छ । यहाँ बाह्रै महिना सिंचाई हुने क्षेत्र १९ हजार छ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार दुईसय एघार हेक्टर रहेको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...