काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्द्माकुमारी अर्यालले अनलाइनमार्फत माग र आपूर्तिको व्यवस्था मिलाइने र टेलिफोनबाट किसानको अवस्था बुझिने बताएकी छन् । मन्त्रालयले सरोकार निकायका प्रतिनिधिसँग बुधबारआयोजना गरेको भर्चुअल छलफलमा उनले कृषि उपजको मूल्य घटेका विषयमा राहतको प्रबन्ध गर्न सकिन्छ कि भनेर मन्त्रालयमा छलफल गरिनेछ जानकारी दिइन् ।
ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने मन्त्री अर्यालले बताइन् । उनले भनिन्, “खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ कि भनेर हामी छलफल गर्छौँ ।”
सो अवसरमा मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपक्षी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न मन्त्रालय गम्भीर रहेको प्रष्ट पारिन् । सहभागी किसानले महामारीका कारण बजारमा कृषि उत्पादनको मूल्य न्यून भएको गुनासो गरेका थिए ।
कतिपय तरकारी स्वदेशमा नै उत्पादन भइरहेका सन्दर्भमा भारतबाट पनि आयात भएका कारण किसान मर्कामा परेको तिनको दुखेसो थियो । अहिले ताजा तरकारीमा ढुवानीको समस्या नभए पनि मूल्यको समस्या रहेको उनीहरुको भनाइ थियो ।




Comments are closed.