कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरेंः अर्याल

काठमाडौं । केपी ओली सरकारबाट बाहिरिएकी मन्त्री पद्मा अर्यालले आफूले पदमा रहँदा इमान्दरपूर्वक काम गरको बताएकी छन् । कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ आफूले काम गरेको उनले बताइन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अर्यालले पद अस्थायी भएको र जिम्मेवारी पाउँदा बफादारी पूर्वक समर्पित हुनुपर्ने आफ्नो मान्यता रहेको बताएकी छन् ।

अर्यालको प्रतिक्रियाः

धन्यवाद तथा आभार

पद अस्थायी हो तर जिम्मेवारी पाउँदा बफादारी पूर्वक समर्पित हुनु महत्वपूर्ण हुन्छ ।

आदरणीय मतदाता एवं सम्पूर्ण महानुभावहरुले म प्रति गर्नुभएको विश्वास र भरोसालाइ पूरा गर्न मैले मनदेखि वाचा गरेकी थिएँ । देश र जनताको नाममा खाएको कसम व्यवहारबाटै प्रमाणित गर्ने मेरो अभिलाषा थियो । पार्टीको चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने संकल्प गरेकी थिएँ ।

यी ३ वर्षमा ३ वटा मन्त्रालय सम्हाल्ने मौका पाएँ । देश र जनतालाई ईमानदार र निष्ठा पूर्वक सेवा गर्ने मेरा रहर र मूल्य दुबै हुन् । सोही मूल्यमा कुनै निजी स्वार्थ र अनुचित लाभमा नलाग्ने प्रणका साथ काम गरेँ । मलाई माया गर्नुहुने, सद्भभाव राख्नुहुने शुभचिन्तकहरुकै कारण केही युगीन महत्वका एतिहासिक कार्य गर्ने उत्प्रेरणा मिलेको हो ।

राष्टको सेवा गर्ने मौका प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष के.पी शर्मा ओलीज्यू सहित आदरणीय नेताहरू, सिङ्गो पार्टी पंक्ति र मतदाताप्रति कृतज्ञता व्यक्त गर्दछु । कामको सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई दिनु भएको प्रेरणा र हौसलाको म मुक्त कण्ठले प्रशंसा गर्छु ।

मलाई साथ दिनुहुने पार्टी नेता, कार्यकर्ता, बौद्धिक व्यक्तित्व, विज्ञ, सचिवालयमा रहेर अहोरात्र खट्नुहुने साथीहरु, मन्त्रालयका कर्मचारीहरू, नागरिक, सुसूचित गरिदिने सञ्चारकर्मी मित्रहरु, सम्पूर्ण शुभचिन्तक महानुभावहरु तथा निष्ठापूर्वक काम गर्न वातावरण तयार गरिदिने मेरा परिवारका सदस्यहरूप्रति हृदयको गहिराईदेखि नै आभार व्यक्त गर्दछ ु।

आगामी दिनमा पनि मेरो सकृयतामा कुनै कमी रहने छैन र सम्पूर्ण समय जनताकै लागि समर्पित हुनेछु ।

You might also like

Comments are closed.