काठमाडौं । नेपाली स्थानीय तथा रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित स्थापना भएको पहाडी फुड्सले अष्ट्रेलियामा आफ्नो बजार विस्तार गरेको छ । कम्पनीका करिब ३५० प्रकारका खाद्य तथा गैरखाद्य उत्पादन अहिले अष्ट्रेलियाका विभिन्न सहरमा उपलब्ध हुन थालेका छन् ।
पहाडी फुड्सका अनुसार अष्ट्रेलियामा कम्पनीको आधिकारिक वितरकका रूपमा हर्ना कर्पोरेसन, मेलबर्न, भिक्टोरिया रहेको छ । वितरकमातहत मेलबर्न, तास्मानिया र पर्थका विभिन्न नेपाली तथा एसियाली किराना पसलमार्फत पहाडीका उत्पादन बिक्री भइरहेका छन् ।
कम्पनीका उत्पादनमा चामल, दाल, गेडागुडी, अचार, महलगायत खाद्य सामग्रीसँगै नेपाली मौलिक पहिचान बोकेका दौरा–सुरुवाल, ढाका टोपी, कुचोलगायतका करिब ३५० प्रकारका उत्पादन छन् ।
पहाडी फुड्सका उत्पादन मेलबर्न क्षेत्रमा बिगबजार (ग्लेनरोय), टच अफ एसिया (ग्लेनरोय र क्रेगिबर्न), केटीएम बजार (वोलर्ट र क्रेगिबर्न), लालिगुराँस ग्रोसरी (कोबर्ग), कोबर्ग पसल, नेपमार्ट (सनसाइन), नेप्से मार्ट र किराना प्यान्ट्री (सनसाइन) लगायतका स्टोरमा उपलब्ध छन् ।
त्यस्तै, तास्मानियाको लाउन्सेस्टन र होबार्टमा मेनुका स्टोर, बुद्धा एसियन ग्रोसरी, लाउन्सेस्टन मार्ट र नमस्ते स्पाइसबाट पहाडीका उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । पर्थमा भने केटीएम मार्ट र बासमती ग्रोसरीमार्फत पहाडी फुड्सका उत्पादन बिक्री भइरहेका छन् ।
कम्पनीका अनुसार अष्ट्रेलियामा करिब १ लाख ९५ हजार अमेरिकी डलर बराबरका उत्पादन निर्यात भइसकेका छन् । निर्यात गरिएका उत्पादनमा नेपाली खाद्य सामग्रीदेखि परम्परागत पहिरन तथा घरायसी सामग्रीसम्म समावेश छन् ।
पहाडी फुड्सले नेपालका पहाडी तथा ग्रामीण क्षेत्रका किसानबाट उत्पादित स्थानीय, अर्गानिक तथा परम्परागत खाद्य सामग्रीलाई बजारसँग जोड्दै आएको जनाएको छ । स्थानीय किसानले उत्पादन गरेका सामग्रीलाई प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कम्पनीको लक्ष्य छ ।
अष्ट्रेलियामा बजार विस्तारले नेपाली स्थानीय उत्पादनप्रति अन्तर्राष्ट्रिय उपभोक्ताको आकर्षण र माग बढिरहेको देखाएको कम्पनीको भनाइ छ । नेपाली माटोमा उत्पादित अन्न तथा स्थानीय स्रोतमा आधारित उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन गरेर विश्व बजारमा पु¥याउने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।

पहाडी फुड्सले हाल अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान र भारतलगायतका मुलुकमा आफ्ना उत्पादन निर्यात गर्दै आएको जनाएको छ। युरोपेली बजारमा भने हालसम्म निर्यात सुरु नभएको र त्यहाँ बजार विस्तारका लागि वितरकको खोजी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालनमा आएको करिब तीन वर्ष भएको छ । अन्य मुलुकमा उत्पादनको माग तथा उपभोक्ताबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई आधार बनाउँदै आगामी दिनमा उत्पादनको दायरा र निर्यात परिमाण थप विस्तार गर्ने योजना पहाडी फुड्सले अघि सारेको छ ।




Comments are closed.