पोखरा । नेपाल अडिटर्स एसोसियसन (अडान) को २०औं स्थापना दिवस (अडान डे) का अवसरमा अडान कास्कीले साउन १६ गते विशेष कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरेको छ ।
कार्यक्रमको प्रारम्भ मानव सेवा आश्रम, हेम्जामा करिब १८० जना आश्रितहरूलाई भोजन गराएर र वेलको वृक्षारोपण गरेर गरिएको थियो। सो कार्यक्रममा अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
त्यसपछि दिउँसो अडान कास्कीका सदस्यहरूलाई लक्षित गर्दै व्यावसायिक अभ्यासमा कृत्रिम बौद्धिकताका अवसर तथा चुनौती विषयमा विशेष प्रशिक्षण आयोजना गरिएको थियो। प्रशिक्षण काठमाडौं विश्वविद्यालयका एआई विज्ञ मनोज शाक्यले प्रदान गरेका थिए ।
कार्यक्रममा अडानका पूर्व अध्यक्षहरू केशबहादुर केसी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमलबहादुर रेग्मी, र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धु पोखरेललाई विशेष सम्मान गरिएको थियो ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला सचिव तथा अर्थविज्ञ टंक पाण्डे प्रमुख अतिथि रहनु भएको कार्यक्रममा उनले रजिस्टर्ड अडिटर्सहरूले प्रमाणपत्र लिएर मात्र होइन, व्यवसायिक ज्ञान, क्षमता र शिप विकास गर्दै जानु अति आवश्यक छ भन्ने धारणा राखे ।
विशिष्ट अतिथि तथा अडानका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले अडानको स्थापना २०६३ साल साउन २० गते भएको स्मरण गर्दै, संस्थाको उद्देश्य र सदस्यहरूको हकहितमा केन्द्रित रहेर गरिएका कार्यहरूको जानकारी गराउनुभयो। उनले लेखापरीक्षण व्यवसायमा आएका नविनतम मापदण्डहरूको प्रयोग, तथा ूगैर व्यवसायी विचौलियाहरूको हस्तक्षेपू को चुनौतीबारे चर्चा गर्दै पेशागत अनुशासनमा जोड दिए ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरीक्षकहरूले प्रचलित ऐन, कानून र मापदण्डहरूको गहिरो अध्ययन गरी वित्तीय विवरणहरू तयार गर्न सुझाव दिए । कार्यक्रमको अध्यक्षता अडान कास्की अध्यक्ष गुणनिधी पाण्डेले गरेका थिए भने सञ्चालन अडान सदस्य कृष्णराज ढुङ्गानाले गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघ, आइक्यान पोखरा, क्यान महासंघ कास्की, अर्घाखाँची सम्पर्क समाज, अडान केन्द्र, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, अग्रज अडिटर्स लगायत करिब ८० जना सहभागी थिए।
स्थापना दिवसको अवसरमा अडान कास्कीले समाजसेवा, ज्ञान प्रवाह, पेशागत सुदृढीकरण र आपसी समन्वयको माध्यमबाट लेखापरीक्षण व्यवसायलाई थप सशक्त बनाउने अठोट व्यक्त गरेको छ।
Comments are closed.