बालिको झझल्को दिने पाम बिच एण्ड लाउन्ज

पोखरा । युवा व्यवसायीहरुको लगानीमा पर्यटकीय नगरी पोखरामा पाम बिच एण्ड लाउन्ज प्रा.लि. सञ्चालनमा आएको छ । पोखरा–१८ खपौदीस्थित पञ्चासे मार्गमा खुलेको पाम बिच फेवातालको किनारामा छ ।

राजेन्द्र रानाभाट, रवि तिमिल्सिना, शंकर पराजुली, अभिषेक गुरुङ र धर्मराज कटुवालको संयुक्त लगानीमा सुरु भएको पाम बिचमा आन्तरिक पर्यटकको आकर्षण देखिएको छ । इन्डोनेसियाको बालिको झझल्को दिने गरी पाम बिचको संरचना निर्माण गरिएको सञ्चालक राजेन्द्र रानाभाटले आर्थिक आवाजलाई जानकारी दिए ।

लकडाउन र कोरोना महामारीकै बीचमा लगानी गर्दै अवसरको खोजी गरेका युवाहरु पाम बिचमा पाहुनाको आकर्षण देखिँदा उत्साही भएका छन् । ‘यहाँको मुख्य आकर्षण हाइजेनिक खाना हो,’ रानाभाट भन्छन्, ‘हामीले पोखराकै उत्कृष्ट सेफहरु किचन टोलीमा समावेश गरेका छौं ।’ पूर्ण पारिवारिक वातावरणमा पाहुनालाई सेवा उपलब्ध गराइने उनले बताए ।

तालको छेउमा रहेको पाम बिच निकै आकर्षक देखिन्छ । इन्डोनेसियाको बालिको जस्तै गरी चराको गुँड बनाइएको छ, जहाँ फोटो खिच्नका लागि धेरै लालायीत हुन्छन् । ७० प्रतिशतमात्रै काम सम्पन्न गरेर सञ्चालनमा आएको पाम बिचमा ३० प्रतिशत काम निर्माणाधीन छ ।

करिब ३ रोपनी जग्गामा निर्माण भएको पाम बीचमा एकै पटक २ सय जनासम्मलाई सेवा उपलब्ध गराउन सकिने रानाभाट बनाउँछन् । ‘सफ्ट मेनु उपलब्ध गराएर सेवा सुरु गरेका छौं,’ उनले भने, ‘छिट्टै पूर्ण रुपमा सेवा सुरु गर्दै फुल मेनु ल्याउनेछौं ।’ पाम बिचमा आउनेहरु मध्ये धेरैको रोजाईमा माछा र पिज्जा पर्ने गरेको रानाभाटले बताए ।

पाम बिचमा २ करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ । पूर्ण रुपमा सेवा शुभारम्भ हुँदासम्म लगानी ३ करोड पुग्नेछ । एक वर्षभित्रमा पोखरा १८ मा सबैभन्दा बढी ट्याक्स तिर्ने उद्देश्य आफूहरुले लिएको रानाभाट बताउँछन् । पाम बिचमा अहिले ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारी संख्या अझै बढ्नेछ । यतिबेला पोखरा, चितवन, बुटवटबाट धैरै आन्तरिक पर्यटकहरु पाम बिचमा आइरहेको रानाभाटले बताए । ‘पाम बिचमा खानाको स्वादसँगै साइडसिनको मज्जा पनि लिन सकिन्छ,’ रानाभाटले भने ।

You might also like

Comments are closed.