पोखरा । आजीवन पञ्चासेको विकासमा लागेका सामाजिक व्यक्तित्व स्व. गोपाल गुरुङको स्मृतिमा निर्माणाधीन पञ्चासे सुनाखरी गोपाल स्मृति पार्कमा प्रतिस्थापित प्रतिमाको अनावरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रतिमाको अनावरण गरेका हुन् ।
२ हजार ५ सय १७ मिटर उचाईमा रहेको पञ्चासेको एउटा टापुमा पार्क निर्माणाधीन छ । पार्कको बीच भागमा प्रतिमा निर्माण गरिएको हो । जैविक विविधताको अध्ययन र धार्मिक पर्यटकीय गन्तव्यका लागि राम्रो सम्भावना बोकेको ठाउँमा पञ्चासे पर्छ । गोपाल गुरुङ आफ्नो जीवनकालमा पञ्चासेको विकासका लागि निरन्तर सक्रिय रहेका थिए ।
गोपाल गुरुङलाई जीवन्त राख्ने अभिलाषाका साथ प्रतिमा स्थापना गरिएको पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण समितिका सचिव चिजकाजी गुरुङले बताए । प्रतिमा तथा पार्क निर्माणमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी दाताहरु, संघसंस्था र व्यक्ति विशेषलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ । ‘पार्कको निर्माणले पञ्चासे क्षेत्रको जैविक विविधताको संरक्षणका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास लिन सकिन्छ,’ सचिव गुरुङले भने ।
गोपाल गुरुङले पञ्चासेका लागि धेरै काम गरेको स्मरण गर्दै मन्त्री लम्सालले सरकारले पनि उनको अभियान अनुसार काम गर्ने धारणा राखे । ‘ऐतिहासिक धार्मिक स्थल बनाउने र प्रवद्र्धन गर्ने अभियानमा सरकार लाग्छ,’ उनले भने ।
विश्वमै नपाउने २ प्रजातिका सुनाखसी त्यस क्षेत्रमा पाउँछन् । अन्य थुप्रै जैविक विविधता पञ्चासेको वरीपरी रहेको उनले बताए । पञ्चासे क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले काम गरिरहेको मन्त्री लम्सालले बताए । गोपाल गुरुङको निधन २०७६ साउनमा भएको हो ।
Comments are closed.