काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी तथा साधुसन्तहरूको ठूलो घुइँचो लागेको छ । स्वदेश तथा छिमेकी मुलुक भारतलगायत विभिन्न स्थानबाट आएका भक्तजन रातिदेखिनै लाइनमा बसेर भगवान् शिवको दर्शन गरिरहेका छन् ।
मन्दिरका चारै ढोका बिहानैदेखि खुला गरिएको छ भने दर्शन व्यवस्थापनका लागि विभिन्न स्थानबाट छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ । सुरक्षा, स्वास्थ्य तथा स्वयंसेवक परिचालन गरी भीड व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ ।

महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा विशेष पूजाआजा, महादीप, अखण्डदीप तथा दीपोत्सव कार्यक्रम आयोजना गरिएको छ । साधुसन्तहरूले धुनी बालेर भजनकीर्तन गरिरहेका छन् भने श्रद्धालुहरूले बेलपत्र, दूध, धतुरो चढाई व्रत एवं उपवासका साथ पूजा–आराधना गरिरहेका छन् ।
मेला भर्न आउने भक्तजनको सुविधाका लागि यातायात, पिउने पानी तथा शौचालयको थप व्यवस्था गरिएको जनाइएको छ । लागू पदार्थ सेवन तथा बिक्री–वितरणमा कडाइ गरिएको छ ।
महाशिवरात्रिका अवसरमा आज दिनभरि पशुपतिनाथ क्षेत्रमा भक्तजनको चहलपहल रहने अनुमान गरिएको छ ।


Comments are closed.