काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।
बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेल र सामन्थाबीच भेटर्वाता भएको हो । आज भएको भेटर्वातामा सामन्थाले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी थिइन् ।
त्यस्तै, यसअघि उनले मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी सामन्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम छ ।
स्वदेश फर्किनुअघि साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन् ।
Comments are closed.