आयत नियमन र आर्थिक गतिविधिमा सुस्तता हुँदा राजश्व वृद्विदर नकारात्मक : अर्थमन्त्री

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयत नियमन र आर्थिक गतिविधिमा सुस्तता हुँदा राजश्व वृद्विदर नकारात्मक भएकाे बताएका छन् । साथै उनले  उत्पादनमुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा आर्थिक वृद्धिमा सुस्तता छाएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री पौडेले चालु आवको बजेटको मध्यावधि समीक्षा गर्दै चालु आवको आर्थिक वृद्धि र मुद्रस्फीतिको लक्ष्यअनुसार नहुने बताएका हुन् ।

मन्त्री पौडेलले भने, ‘आयत नियमनको असर तथा आर्थिक गतिविधिमा भएको सुस्तता लगायतका कारणहरूले गर्दा राजश्व वृद्विदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनभा चरम दवाव परेको छ । ’

त्यस्तै, पौडेलले बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख अवस्थामा रहेको बताउँदै विगतमा तरलता नहुँदा अल्पकालीन ब्याजदर बढेको जानकारी दिए ।

‘चालु आवमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने देखिँदैन,’ उनले भने, ‘कृषि र पर्यटन पक्षमा सुधार भएपनि उत्पादन मुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा सुस्तता छाएको छ ।’

पौडेलले निर्वाचनपछि गठन भएको सरकारको जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न थप स्रोत परिचालन गर्नुपर्ने अवस्थामा बजेट सन्तुलन कायम गर्न कठोर कदम चाल्नुपर्ने बाध्यता आएको पनि बताएका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । मन्त्री पौडेलले पछिल्लो केही समयदेखि अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको र आर्थिक पुनरुत्थानका क्रममा चुनौती थपिएको बताए ।

यस्तै वर्षको मुद्रास्फीति ७ प्रतिशत सीमामा राख्ने लक्ष्य भएकामा अहिले नै ७.२६ प्रतिशत पुगिसकेको छ ।यसअवधिमा कर्जा २.८ प्रतिशत र निक्षेप ४.२ प्रतिशतले बढेको छ ।

 

You might also like

Comments are closed.