‘राम्रो प्यानल र सहमतिका लागि अध्यक्ष त्यागेर वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेँ’

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनका लागि अध्यक्षको बलियो उम्मेदवार पवन प्रजापती हो भन्ने धेरैलाई लागेको थियो । प्रायले पवन अध्यक्षमै प्रतिस्पर्धा गर्छन् भन्ने सोचेका थिए । महाधिवेशनको मिति घोषणा भइसक्दासम्म पनि उनले आफू अध्यक्षकै आंकाक्षी भएको बताउँदै आएका थिए ।

अध्यक्षको बलियो दावेदार बन्नका लागि उनका सहयोगी तथा नजिकका साथीहरुले समेत उनलाई नउक्साएका होइनन् । तर, उनी यही पुस २४ र २५ गते हुने संघको महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न तयार भएका छन् । उनले नारायण कोइरालाको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी प्रस्तुत समेत गरिसकेका छन् ।

‘अघिल्लो पटक (३२औं महाधिवेशनमा) प्यानल बनाउँदा मलाई ३३औं महाधिवेशनमा अध्यक्ष बनाउने साथीहरुले बताउनुभएको थियो,’ उनले भने, ‘यद्यपि, अहिलेको परिस्थिति र राम्रो प्यानल बनाउन मैले त्याग गर्दै वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न तयार भएको छु ।’

अध्यक्षको उम्मेदवार बन्न उनलाई स्वास्थ्यले पनि साथ दिएन । कोभिडले उनलाई लामो समयसम्म बिरामी बनायो । उनी अहिले पनि आराम गर्दैछन् । एकातर्फ स्वास्थ्यको समस्या, अर्कोतर्फ अघिल्लो पटकका प्यानलका सारथीहरुको दबाबपछि उनी वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न राजी भएका हुन् ।

‘२ वर्ष पछाडि अध्यक्ष बन्दैमा केही फरक पर्दै भन्ने मलाई लाग्यो,’ उनले भने, ‘एक पटक वरिष्ठ उपाध्यक्ष बनेर बस्दा राम्रो प्यानल बन्छ र सहमतिको प्रयासमा योगदान पनि पुग्छ भन्ने लागेपछि मैले यो पद स्वीकार गरेको हुँ ।’

You might also like

Comments are closed.