व्यापार मेला यस पटक विशेष बन्नेछः अध्यक्ष प्रजापती

प्रवन प्रजापती, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ३२औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । मंसिर २१ गते सुरु हुने मेला पुस १ गतेसम्म चल्नेछ । मेलाका सन्दर्भमा संघका अध्यक्ष पवन प्रजापतीसँग आर्थिक आवाजले गरेको कुराकानीः

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी लिएको एक वर्ष भइसकेको छ । अध्यक्ष पद कत्तिको चुनौतीपूर्ण रहेछ ?

अध्यक्ष पद आफैमा चुनौतीपूर्ण हो । म पोखरा उद्योग वाणिज्य संघको सदस्यबाट विभिन्न पद हुँदै अध्यक्ष बनेको हुँ । अध्यक्ष निर्वाचित भएसँगै चुनौतीहरु पनि आए । गत वर्ष मेला आयोजना गर्नुपर्ने भन्दा केही दिन अगाडि मात्रै हामी निर्वाचित भएका हौं । बैंक तथा वित्तीय संस्थाका कारण पनि चुनौती आए । आर्थिक मन्दीका कारण पनि समस्या भयो । व्यवसायसमेत धारासायी हुँदै गए । यसलाई कसरी निराकरण गर्न सकिन्छ, कसरी महासंघसँग समन्वय गर्न सकिन्छ, राष्ट्र बैंक तथा गर्भनरसँग पनि समस्या पुर्याउनुपर्ने थियो, हामीले सबैसँग लविङ गर्यौं । प्रधानमन्त्रीसँग भेटेर हामीले बैंक तथा वित्तीयसंस्था सम्वन्धी विभिन्न समस्यावारे छलफल पनि गर्यौं । एक वर्ष हामी उद्योगी व्यवसायीहरुको हकहितमै काम गर्न सक्रिय भयौं ।

jutta mela

यही बीचमा महासंघको निर्वाचन पनि भयो । वरिष्ठ उपाध्यक्षमा पोखराकै उद्योगी अञ्जन श्रेष्ठ बिजयी हुनुभएको छ । यसलाई संघले कत्तिको उपलब्धीका रुपमा लिएको छ ?

यसबीचमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन पनि भयो । पोखरा उद्योग वाणिज्य संघका एसोसिएट सदस्य अञ्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउन सफल भयौं । यो पनि हाम्रो ठुलो उपलब्धी हो भने प्रतिष्ठासँग जोडिएको छ । उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ । मेलाको मूख्य प्रायोजक नै लक्ष्मी ग्रुप अन्तर्गतको समृद्धि स्टिल्स बनेको छ । हामीलाई यसले थप प्रोत्साहन पनि मिलेको छ । जिल्ला तथा नगरका कुरा सहज रुपमा प्रस्तुत गर्ने मौका पाएका छौं । नगर, जिल्ला तथा प्रदेश उद्योग वाणिज्य संघ पनि हामीले राम्रो सम्वन्ध कायम राखेका छौं । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशसँग पनि समन्वय गरेर हामी अगाडि बढिरहेका छौं ।

संघले वर्षेनी मेला आयोजना गर्दै आइरहेको छ । यस पटक आयोजित मेला कस्तो हुन्छ ?

मेला संचालन गर्ने पोखरा उद्योग वाणिज्य संघको आफ्नै ट्रेण्ड छ । यसपटक मंसिर २१ देखि पुस १ गतेसम्म पोखरा प्रदर्शनीकेन्द्रमा मेला हुँदैछ । यस पटक मेलामा कृषि, बागबानी, हस्तकला, अटो, बैंक तथा वित्तीय संस्था, औद्योगिक पेभेलियन, लगायतका विभिन्न सटल मेलामा रहनेछन् भने साँस्कृतिक कार्यक्रम पनि हुन्छन् । मेलाले उत्पादनलाई बजारीकरणका साथै प्रवद्र्धन गर्नेछ ।

मेलामा विदेशी देशका उत्पादन पनि हुन्छन् ?

यस पटक मेलामा नेपाली मात्र नभई भारत, पाकिस्तान, बंगलादेश लगायतका विदेशी उत्पादन पनि रहनेछन् । विदेशी उत्पादनका बारेमा पनि हामीले मेला बुझ्न सक्नेछौं ।

उद्यम लक्षित गतिविधि केके हुन्छन् ?

महिलालाई लक्षितगरी आत्मनिर्भर बन्न विभिन्न तालिम पनि संचालन गर्नेछौं । महिला उद्यमीलाई हामी निःशुल्क स्टल उपलब्ध गराउँदैछौं । उहाँहरुले आफूले उत्पादन गरेका सामान ल्याएर बजारीकण तथा प्रवद्र्धन गर्नुहुनेछ । विभिन्न खालका मेसिन पनि राख्नेछौं जसबाट सामान उत्पादन गरि बजारीकरण गर्न सकिनेछ । मेला अवलोकन गर्नका लागि मात्र नभई व्यवसायी बन्न चाहनेका लागि पनि विभिन्न अवसर प्रदान गर्नेछौं । कसैले मेसिन किनेर लगेर सामान उत्पादन गर्न चाहनुभयो भने त्यसको बजारीकरणका लागि पनि हामी सहयोग गर्नेछौं ।

अटो पेभेलियनलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?

हामीले हरेक वर्ष अटो पेभेलियन बनाउँछौं । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनसँगको समन्वयमा अटो पेभेलियन बन्छ । जहाँ गाडीहरुको प्रदर्शनी हुन्छ । अटोका स्टलमा गएर गाडी हेरेपछि किन्न मन लाग्यो भने बैंक तथा वित्तीय संस्थाले अन द स्पट फाइनान्सको सुविधा प्रदान गर्नेछन् । अटोका नयाँनयाँ प्रविधि सम्वन्धी ज्ञान पनि लिन पाइने छ । अटो अन्तर्गत करिव ७० प्रतिशत स्टल इभिका रहने छन् । नाडा अटो शो अवलोकन गर्न नपाउनुभएकाहरुलाई नाडा अटो शो कै झल्को दिनेगरि अटोको पेभेलियन बनाएका छौं ।

दर्शकको मनोरञ्जनको लागि मेलामा सास्कृतिक कार्यक्रम कसरी सञ्चालन हुन्छ ?

यस पटक सांस्कृतिक कार्यक्रम पनि विशेष रहने छ । विद्यार्थीका प्रतिभा प्रस्फुटनका लागि विद्यालयस्तरीय विभिन्न प्रतियोगिता हुनेछन् । विद्यार्थीका लागि पनि विशेष प्लेटफर्म बन्नेछ मेला । राष्ट्रिय तथा स्थानीय कलाकारहरुले निरन्तर मनोरञ्जन प्रदान गर्नेछन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

व्यवसायी अहिले आफै समस्यामा छन् । आप्mनो व्यवहार चलाउने कि मेलामा जाने भन्ने अन्योल छ अहिले व्यवसायीका लागि । र पनि मेलामा उद्योगी, व्यवसायीहरुको सहभागिता पनि राम्रो रहन्छ भन्नेमा हामी विश्वस्त छौं । उद्योगले उत्पादन गर्ने सामानको प्रवद्र्धन तथा बजारीकणमा मेलाले महत्वपूर्ण भुमिका खेल्नेछ । अहिलेको अवस्थामा ठुलो उद्योग संचालन गर्न नसकेपनि घरमा नै बसेर विभिन्न उत्पादन गरेर आम्दानी गर्न सकिन्छ । मेलामा आएर ज्ञान तथा सिप सिकेर उद्यमशील बन्न म आग्रह गर्दछु ।

You might also like

Comments are closed.