बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले तोकिएको भन्दा बढी मूल्य लिएर सामान बिक्री–वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्य नगर्न उद्योगी/व्यवसायीसँग आग्रह गरेको छ भने बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साहित नपार्न सरोकारवाला निकायसँग माग गरेको छ ।

संघको तर्फबाट अध्यक्ष शोभा गौतमसहितको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उद्योगी÷व्यवसायीले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने हाम्रो माग पनि गरिएको छ ।
चाडबाड नजिकिँदै गर्दा सरकारी निकाय तथा केही संघ÷संस्थाबाट गरिएको बजार अनुगमनको क्रममा केही व्यवसायीमाथि कारवाही गरिएका समाचार सार्वजनिक भएसँगै संघले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै व्यवसायीको अधिकारको पक्षमा वकालत गरेको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बजार अनुगमनको क्रममा निजी क्षेत्रको सहभागिता सुनिश्चितताको पहल तथा उपभोक्ता हितबारे सचेतना कार्यक्रम संचालनको पहल गर्ने आश्वासन दिए । निजी क्षेत्रलाई हतोत्साही बनाउने प्रशासनको उद्देश्य नभएको तर आपूर्ति प्रणाली चुस्त–दुरुस्त राख्दै उपभोक्तालाई सहजै उचित मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन प्रशासन क्रियाशिल रहेको उनको भनाइ थियो ।

ध्यानाकर्षण पत्रमा बढी नाफा लिने प्रवृत्तिलाई निषेध गर्दै गुणस्तरीय बस्तुको उत्पादन र बिक्री–बितरणको सुनिश्चितता हुनुपर्ने बताउँदै अगाडि भनिएको छ,‘ व्यवसायलाई स्वच्छ, मर्यादित र उपभोक्ता हित अनुकूलको बनाउनका निम्ति हामी सरोकारवाला निकायहरुसँग सदैव सहकार्य गर्दै आइरहेको छ । तोकिएको भन्दा बढी मूल्य लिएर सामान बिक्री–वितरण गर्ने तथा उपभोक्ताको हित प्रतिकूल हुने कार्यको हामी भत्र्सना गर्दछौँ तर संविधानको धारा १७ को उपधारा १ को ‘च’ ले दिएको अधिकारभित्र रही व्यवसाय गर्न पाउने अधिकारमा यो वा त्यो बहानामा धावा बोल्न मिल्दैन भन्नेमा हामी उत्तिकै दृढ छौँ ।’

संविधानको सो धाराले नेपाली नागरिकलाई नेपालको कुनै पनि भागमा पेशा,रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्रदान गरेको छ । ध्यानाकर्षण पत्रमा संघ संविधानको  धारा ४४ मा व्यवस्था भए अनुरुप उपभोक्ताको हितप्रति पनि उत्तिकै सचेत रहेको जिकिर पनि गरिएको छ ।

चाडबाडको मुखमा,बढी भीडभाड हुने बेला गरिने अनुगमनले व्यवसायीलाई हतोत्साहित बनाएको जिकिर गर्दै संघले भनेको छ,‘ समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम संचालन नहुनु,दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार/प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ । कारवाहीको नाममा सोझै दण्ड–जरिवानाको रसिद काट्ने तथा सो कार्यलाई सार्वजनिक संचार माध्यममार्फत् प्रशारण गर्ने कार्यले व्यक्तिको कानूनी प्रतिरक्षाको अधिकारको हनन गरेको पनि हामीले महसुस गरेका छौँ । कारवाहीको नाममा गरिने यस्ता कार्यबाट उद्योगी/व्यवसायीले वर्षौं लगाएर बनाएको ब्राण्ड नै ध्वस्त नगरियोस् भन्ने हाम्रो माग रहेको छ ।’

संघकी अध्यक्ष गौतमको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,उद्योग उपाध्यक्ष सौगात थापा,वाणिज्य उपाध्यक्ष मनोजकुमार श्रेष्ठ,महासचिव सुदीप प्रधानाङ्ग,कोषाध्यक्ष देवेन्सन प्रजू तथा उपमहासचिव प्रदीपराज राजभण्डारीको सहभागिता रहेको थियो ।

संघको तर्फबाट नजिकिएका चाडबाडलाई केन्द्रमा राख्दै उपभोक्ताबाट हुने सम्भावित मागको आपूर्तिको लागि तयार रहन, चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरुको बिक्री–बितरणको व्यवस्था मिलाउन,कानूनले तोकेभन्दा बढी मूल्य तथा म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त–दुरुस्त राख्नको लागि अनुरोध गरिएको महासचिव सुदीप प्रधानाङ्गले बताए ।


You might also like

Comments are closed.