अत्यावश्यक सामग्रीको व्यवसाय मात्रै संचालन गर्न पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ ।

‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन । विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ ।’

संघले व्यवसायीहरुले बिक्री÷बितरण गर्ने सबै सामग्रीहरु सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुने भए पनि शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा प्रष्ट हुन पनि व्यवसायीहरुसँग आग्रह गरिएको छ । संघले आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि उद्योगी÷व्यवसायीहरुलाई पटक–पटक अनुरोध गरिएको स्मरण गर्दै विषमतामा पनि अत्यावश्यक सामग्रीहरुको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिन पनि आग्रह गरेको छ ।
उद्योगी÷व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिकहरु आफै संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको उल्लेख गर्दै संघले राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी नरहने स्मरण गराएको छ ।

प्रेस विज्ञप्ति
कोभिड–१९ को फैलँदो दोस्रो लहरसँगै नेपाल सरकार तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाबारे हामी सबै जानकार नै छौं । संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन ।

फैलँदो कोभिड–१९ को दोस्रो भेरियण्ट (प्रजाति) बाट बच्नु तथा समाजलाई बचाउनु हामी सबैको कर्तव्य भएकोमा पोखरा उद्योग वाणिज्य संघ प्रष्ट छ । संघले सदस्य प्रतिष्ठान एवं सम्पूर्ण उद्योगी÷व्यवसायीहरुलाई संकटको यो घडीमा सर्वप्रथम आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि पटक–पटक अनुरोध गर्दै आइरहेको व्यहोरा पनि हामी स्मरण गर्दछौं ।

विषमतामा पनि अत्यावश्यक सामग्रीहरुको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिनु हाम्रो कर्तव्य भएकोमा पनि हामी प्रष्ट छौं । अतः संकटको यो घडीमा राज्यले निर्दिष्ट गरेका अत्यावश्यक सामग्रीको बिक्री–बितरण गर्दासमेत सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न, भीडभाड नगर्न तथा आवश्यक दूरी कायम गर्न पोखरा उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी÷व्यवसायीहरुमा हार्दिक आग्रह गर्दछौं ।

अर्कोतर्फ, व्यवसायीहरुले बिक्री÷बितरण गर्ने सबै सामग्रीहरु सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुन्छन् । यसो भनिरहँदा शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा पनि हामी प्रष्ट हुनुपर्छ ।

उद्योगी÷व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिकहरु आफै संवेदनशील र जिम्मेवार बन्ने समय हो भन्ने प्रष्ट पारेको पनि हामी यहाँ स्मरण गर्न चाहन्छौं । विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन । विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ । महामारी फैलिए वा आफ्नो जीवन नै नरहे व्यवसाय पनि रहँदैन भन्ने व्यहोरा पनि हामी यहाँ स्मरण गर्न चाहन्छौं । तसर्थ ः संकटको गाम्भीर्यतालाई बुझ्दै तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालनमा ल्याइ आफै जिम्मेवार बनिदिनु हुन पोखरा उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी÷व्यवसायीहरुमा पुनः आग्रह गर्दछ ।

…………………….
सुरेन्द्रमान विजुक्छे
महासचिव

 

You might also like

Comments are closed.