व्यवसायीको प्रश्न : हामीलाई खोप र व्यवसाय बचाउने कार्यक्रम खै ?

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन कच्चा पदार्थमा लगाइएको अत्यधिक भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिएका छन् ।
‘सरकारले स्वदेशमै उत्पादन हुने र यहाँको माग धानिरहेका चाउचाउ, बिस्कुटलगायतका बस्तुहरुको कच्चा पदार्थमा लगाउने भन्सार शुल्क उच्च रहेको छ’,उनले भने,‘सरकारले तयारी बस्तु र कच्चा पदार्थ आयात गर्दा लिइने शुल्क फरक गर्नुपर्छ ।’
महासंघका केन्द्रीय सदस्य अधिकारी प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिको प्रतिनिधिमण्डलसँग आइतबार पोखरामा भएको अन्तरक्रियामा बोल्दै थिए ।

मूल्यवृद्धि नियन्त्रण गर्न भन्सार बिन्दुदेखि आयात हुने ठाउँमै अनुगमन गनुपर्नेमा जोड दिँदै उनले अनुगमनको नाउँमा व्यवसायीलाई दुःख दिने काम रोक्नुपर्ने बताए । कोभिड–१९ ले सिर्जना गरेको विषमताले उद्योग र वाणिज्य क्षेत्र धराशायी भएको बताउँदै राहतका कार्यक्रम र खोपको सुनिश्चितता नभए अवस्था अझै विकराल हुने उनको भनाइ थियो । उनले सरकारले बजेटमार्फत् घोषणा गरेका राहतका कार्यक्रम प्रभावकारी हुन नसकेको तथा मौद्रिक नीति ढिला हुँदा झन अन्यौल बढेको जिकिर गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा उद्योग वाणिज्य संघले व्यवसायीको हितको अलावा सामाजिक उत्तरदायित्व निर्वाह गरेको उल्लेख गर्दै यस्ता संस्थाहरुलाई राज्यले सँगै लिएर हिँडाउनुपर्नेमा जोड दिए । कोभिड १९ का कारण सिर्जित विषमताले व्यवसाय उठ्नै नसक्ने अवस्थामा पुगेकाले तत्काल खोपको प्रबन्ध गर्नुपर्ने उनको माग थियो । कार्यवाहक अध्यक्ष प्रजापतिले व्यवसायीले कर्जा लिँदा व्यहोर्नुपरेको झमेला सरलीकृत हुनुपर्नेमा पनि जोड दिए ।

jutta mela

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षले कोभिड कालमा सीमित कर्मचारी राखेर उद्योग चलाउँदा लागत बढेको र उत्पादनले प्रतिष्पर्धी क्षमता गुमाएको गुनासो गरे । देश प्रादेशिक संरचनामा गएपनि कम्पनी रजिष्टार, खाद्य तथा गुण नियन्त्रकजस्ता कार्यालय प्रदेशमा नखोलिनु दुखद भएको उनको भनाइ थियो । फरक प्रसंगमा उनले सामाजिक सुरक्षा कोषले आफूलाई विश्वसनीय बनाउन नसक्दा मजदुरहरुले पनि सो कोषमा जान आनाकानी गरेको जिकिर गरे ।

उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको सो अन्तरक्रिया कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल तथा कोषाध्यक्ष बलराम आचार्यको पनि उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा उठेका विषयबस्तुबारे आफ्नो धारणा राख्दै प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले आउँदो केही महिनामै सबै प्रदेशमा खाद्यबस्तुको गुणस्तर मापन गर्ने प्रयोगशाला स्थापना हुने बताएका छन् ।

निजी क्षेत्रको समस्या तथा बजारको अवस्थाबारे बुझ्ने क्रममा पोखरा आएका उनले पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको अन्तरक्रियामा सो जानकारी गराएका हुन् ।

‘प्रयोगशाला बन्ने पक्कापक्की भएको छ’,उनले भने,‘ वैदेशिक रोजगारीमा जानेहरुको लागि तालीम दिने व्यवस्था पनि प्रदेशमै गरिँदैछ ।’ तालीम केन्द्र स्थापनाको लागि कतार र साउदी अरबले सहयोगको आश्वासन दिएको उनको भनाइ थियो ।

सभापति श्रीवास्तवले निजी क्षेत्रको संरक्षण र सहयोगविना विकास असम्भव रहेको बताउँदै निजी क्षेत्रले उपभोक्तालाई केन्द्रमा राखेर व्यवसाय गर्नुपर्नेमा पनि जोड दिए । आत्मनिर्भर भएका क्षेत्रलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएको बताउँदै उनले कृषिलगायतका क्षेत्रमा वैदेशिक लगानी रोक्नुपर्ने तर्क गरे ।

अन्तरक्रियामा सहभागी उद्योग तथा वािणज्य,श्रम तथा उपभोक्ता हित समितिका सदस्य तथा सभासद रामेश्वर राय यादवले निजी क्षेत्रका समस्याहरु सुल्झाउन समितिले सरोकारवाला मन्त्रालयलाई निर्देशन दिने बताए । समितिकी सदस्य तथा सभासद सुजाता परियारले साना व्यवसायी एवं मजदुरहरुको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले उद्योगी व्यवसायीहरुको लागि खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने बताइन् । अर्की सदस्य तथा सभासद सरितादेवी गिरीले खोपको सुनिश्चिततासँगै व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

You might also like

Comments are closed.