पोखरा उवासंघको कार्यसमिति सदस्यमा अमृत पोखरेलले उम्मेदवारी दिने

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा चुनाव लागेको छ । आगामी भदौ तेस्रो साता हुने निर्वाचनका लागि संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी अमृत पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्याङ्जाको सामान्य परिवारबाट संघर्षको यात्रा सुरु गरेका पोख्रेलले दुई दशकभन्दा बढी समय विद्युत् क्षेत्रमा निरन्तर सेवा दिएका छन् । व्यवसायी, साथीभाइ र शुभेच्छुकमाझ ‘भुइँमान्छे’ भनेर परिचित पोख्रेल आफ्नो इमानदार कार्यशैली, सरल जीवनशैली, सेवाभाव र कर्मप्रतिको समर्पणका कारण फरक पहिचान बनाउन सफल भएका व्यक्तित्व हुन् ।

कुनै कार्यक्रमका बीचमा विद्युत् समस्या आउँदा कोट–सुटमै भएपनि प्रतिष्ठाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिँदै हिलो, खाडल र कठिन परिस्थितिमा आफैं खटिएर समस्या समाधान गर्ने उनको कार्यशैलीले नै उनलाई ‘बिजुली अमृत’ को परिचय दिलाएको हो ।

कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि उनले आफ्नै सुरक्षाभन्दा नागरिकको सेवालाई प्राथमिकता दिँदै निरन्तर विद्युत् सेवा उपलब्ध गराए । यही समर्पणले उनलाई सफल व्यवसायी मात्र होइन, जिम्मेवार समाजसेवी र भरोसायोग्य नागरिकका रूपमा स्थापित गरेको छ ।

१२ भन्दा बढी युवालाई रोजगारी सिर्जना गर्नु, दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउनु तथा व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिनु उनको नेतृत्वको विशेषता हो । त्यसैले धेरै व्यवसायीले उनलाई बोल्नेभन्दा काम गरेर देखाउने नेतृत्वका रूपमा सम्मान गर्छन् ।

पोखरा उद्योग वाणिज्य संघलाई अझ पारदर्शी, व्यावसायिक, उद्यमीमैत्री र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धतासहित मैदानमा उत्रिएका पोख्रेलको उम्मेदवारीलाई धेरैले सकारात्मक रूपमा हेरिरहेका छन् ।

संघका सदस्यहरुबाट आफूले अत्याधिक मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनी बताउँछन् ।

You might also like

Comments are closed.